समाचकेवा संरक्षण गर्न जनकपुरधाममा पाँच दिने कार्यशाला
जनकपुरधाम । मिथिलाको लोक संस्कृतिका रुपमा रहेको समाचकेवालाई जीवन्त राख्नका लागि युवा पुस्तामा मूर्तिकलाको सीप हस्तान्तरणका लागि जनकपुरधाममा ‘सामा–चकेवा मूर्तिकला निर्माण कार्यशाला’ शुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा मैथिली विकास कोष जनकपुरधामको संयुक्त आयोजनामा शुरु भएको सो मूर्तिकला निर्माण कार्यशालामा २० जना महिलाहरूको सहभागिता रहेको हो । पाँच दिनसम्म चल्ने सो कार्यशालामा समाचकेवाका विज्ञका रुपमा रहनुभएका विजय मण्डल र रुवी पाठकले मूर्ति निर्माणका विषयमा प्रशिक्षण दिइरहनुभएको छ ।
कार्यशालाको उद्घाटन कोषका अध्यक्ष जीवनाथ चौधरीको तथा बेलायत निवासी एवं मधेश विषयका अनुसन्धानकर्ता माइकल हट्टले संयुक्त रुपमा गर्नुभएको छ । कार्यशालामा सामा–चकेवा पर्वको सांस्कृतिक महत्व, कलात्मक पक्ष र नयाँ पुस्तालाई परम्परागत कला र संस्कृतिसँग कसरी जोड्ने विषयमा छलफल हुने आयोजक संस्थाले जनाएको छ ।
प्रमुख अतिथि एवं बेलायती नागरिक माइकल हट्टले मिथिला क्षेत्रको सांस्कृतिक गहिराइ र सामा–चकेवा जस्ता पर्वले सामाजिक सम्बन्ध सुदृढ बनाउने उल्लेख गर्दै यस परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने सम्भावना भएको बताउनुभयो ।
कार्यक्रमका अन्य वक्ताहरूले सामा–चकेवा पर्वमा बनाइने माटाका मूर्तिहरू मिथिलाको कलात्मकता र भावनात्मक सम्बन्धको प्रतीक भएको उल्लेख गर्दै कार्यशालाले परम्परागत ज्ञान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो ।
यसैबीच मैथिली विकास कोषको आयोजनामा अगामी कार्तिक १६ गते आइतबार जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा समाचकेवा महोत्सव २०८२ आयोजना हुने भएको छ । समाचकेवा खेलको संरक्षणका लागि प्रतियोगितात्मक महोत्सवको रुपमा आयोजना हुने अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्