झापा महिला गोल्डकप दुई दिन पछि सर्यो
झापा । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ को प्रभावले भोलिसम्म झापासहित अधिकांश ठाउँमा पानी पर्ने भएकाले प्रतियोगिता दुई दिन सार्ने आयोजक झापा महिला गोल्डकपले निर्णय गरेको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा झापासहित देशका धेरै ठाउँमा हिजोदेखि निरन्तर पानी परिरहेपछि उद्घाटन खेल कात्तिक १७ गते सोमबारलाई सारिएको छ ।
आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलका अनुसार यसअघि सार्वजनिक गरिएको खेल तालिकाअनुसार २ दिनको मिति पछि धकेलेर प्रतियोगिता हुनेछ । उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच हुनेछ ।
गोल्डकप यसअघि भएका महिला फुटबल प्रतियोगितामध्ये सबैभन्दा आकर्षक र भव्य बन्ने अपेक्षा गरिएको छ । प्रतियोगिता शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १० हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष थोप्राले जानकारी दिनुभयो ।
त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने सचिवालय प्रमुख खरेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, सङ्कटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
आयोजक समितिले यो प्रतियोगितालाई महिला खेलाडीमा प्रेरणा जगाउने र ग्रासरुट स्तरमै महिला फुटबललाई सुदृढ बनाउने अभियानका रूपमा लिएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्