तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयारीका सबै कामहरू भइरहेको छ: निर्वाचन आयोग

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक सबै तयारीहरू एकसाथ अघि बढाएको छ ।

मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरूको नाम लेखाउने, दल दर्ताका लागि निवेदन पेस भएका दलहरूको अध्ययन गर्ने, निर्वाचनको पर्यवक्षण गर्न चाहने संस्थाहरूसँग निवेदन माग गर्ने लगायतका आवश्यक कामहरू भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदाता नामावलीमा नाम लेख्न छुटेका र मतदानका लागि योग्य व्यक्तिहरूलाई लक्षित गरी नाम दर्ता गराउनका लागि कार्तिक मसान्तसम्मको समय तोकेर दर्ताको काम भइरहेको छ । हालसम्म ८० हजार भन्दा बढी व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गराइसकेको निर्वाचन आयोगले जनाएको छ । 

दर्ताका लागि सम्बन्धित जिल्लामै जानु नपर्ने र आाफुलाई पायक पर्ने जिल्ला निर्वाचन कार्यालय अथवा प्रदेश निर्वाचन कार्यालयबाट बायोमेट्रिक दिन सकिने व्यवस्था पनि निर्वाचन आयोगले गरेको छ ।

दल दर्ताको समय मंसिर १ देखि १० सम्म
यसै गरी आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय निर्धारण गरिएकाले सो अवधिभन्दा अघिल्लो मितिमा दर्ता भएमा निर्वाचनमा भाग लिन सक्ने भएकाले कार्तिक मसान्तसम्म दल दर्ताको काम सकिसक्न अथवा त्यो समयभित्र दर्ता प्रमाणपत्र लिइसक्न पनि आयोगले सार्वजनिक रूपमा आग्रह गरेको छ ।

हालसम्म निर्वाचनको मिति तय हुनुभन्दा अगाडी १० वटा र त्यसपश्चात् फाइल पेस भएका ७ वटा दलको अहिले आयोगले कागजातहरू अध्ययन गर्ने र आवश्यक थप कागजात माग्ने लगायतका कामहरू गरिरहेको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।निर्वाचन आयोगले यो काम उचित समयमै टुङ्ग्याउने पनि उहाँले बताउनुभयो ।

यसै गरी आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पर्यवेक्षण गर्न चाहने योग्यता पुगेका संस्थाहरूलाई आवश्यक कागजातसहित निवेदन दिनका लागि सूचना सार्वजनिक गरेको छ ।

पर्यवेक्षणका लागि निवेदन माग
पर्यवेक्षण अनुमतिका लागि काठमाडौँ उपत्यकाको हकमा निर्वाचन आयोगमा र अन्य जिल्लाको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने पनि आयोगले जनाएको छ । यी लगायत निर्वाचनका लागि आवश्यक पर्ने आन्तरिक कामहरू पनि गरिरहेको आयोगले जनाएको छ ।

निर्वाचनका लागि मतदान केन्द्रहरूमा आवश्यक जनशक्ति व्यवस्थापन गर्ने, मतदान सामग्रीहरू पुर्‍याउने प्रयोजनका लागि कार्य योजना नै बनाएर काम गरिरहेको आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो ।

निर्वाचन सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको र निर्वाचनको सुरक्षाका लागि पनि सुरक्षा निकायहरूसँगको छलफलका लागि आयोगले तयारी गरिरहेको उहाँले बताउनुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गर्नका लागि राजनीतिक दल तथा सरोकारवालाहरूसँग आयोग र सरकारले पनि निरन्तर छलफल गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button