बैतडीमा जीप दुर्घटना, एक जनाको मृत्यु चार घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
शिवनाथ गाउँपालिका–५ सुल्लेखानबाट मेलौली–२ सलेनातर्फ जाँदै गरेको से १ ज ७३२ नम्बरको जीप बुधबार राति ११ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
दुर्घटनामा मेलौली नगरपालिका–२ की २३ वर्षीया तुलसी पाण्डेयको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनलाई गम्भीर घाइते अवस्थामै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो ।
दुर्घटनामा मेलौली–२ का ३४ वर्षका हरि पाण्डेय, २८ वर्षका ओम पाण्डेय, ६५ वर्षका डम्बरदत्त पाण्डेय र दशरथचन्द नगरपालिका–७ का ३२ वर्षका चालक जनक बडू घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
जीप सडकबाट करिब १० मिटर तल खसेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताउनुभयो।
प्रहरीका अनुसार उक्त जीपमा पाँच जना मात्रै सवार थिए र उनीहरू बुधबार सम्पन्न शिवनाथ धामको जात्रा हेरेर फर्किरहेका थिए ।








प्रतिक्रिया राख्नुहोस्