तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा एभेन्जर्सद्धारा एनपिएलको ट्रफी सार्वजनिक

पोखरा । नेपाली प्रिमियर लिग (एनपिएल) क्रिकेटमा सहभागी पोखरा एभेन्जर्सले आगामी प्रतियोगिताको ट्रफी पोखरामै विशेष समारोहबीच सार्वजनिक गरेको छ । प्रतिकुल मौसमका कारण आज बिहान ९ बजे पोखरा रङ्गशालाबाट सुरु हुने भनिएको बाइक र्‍याली स्थगित भए पनि ट्रफी सार्वजनिक कार्यक्रम तथा पत्रकार भेटघाट भने पोखरा रङ्गशालामा भएको हो ।

कार्यक्रममा पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले यसपटकको लिगमा जित्ने लक्ष्यसहित आन्तरिक तयारी गरेको जानकारी दिनुभयो । उहाँले “सपना देखेर क्रिकेटमा लगानी गरेको” भन्दै केही वर्षमा यसको प्रतिफल देखिने विश्वास व्यक्त गर्नुभयो । पहिलो संस्करणमा अपेक्षित नतिजा नआए पनि त्यसबाट पाठ सिक्दै यसपटक समयमै खेलाडी प्रशिक्षण सम्पन्न गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपथ्य ब्यान्डका भोकलिष्ट अमृत गुरुङले “कुनै पनि काम पूरा गर्नुअघि सपना देख्न आवश्यक हुन्छ” भन्दै पोखरा एभेन्जर्सलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले संयुक्त प्रयास भए यसपटक टिमले राम्रो नतिजा ल्याउने विश्वास पनि व्यक्त गर्नुभयो ।

पोखरा एभेन्जर्सका ब्रान्ड एम्बासडर सञ्जीव क्षत्रीले टिमको तयारी सन्तोषजनक रहेको उल्लेख गर्दै “यो वर्ष एभेन्जर्सको प्रदर्शन उत्कृष्ट हुनेछ र प्रदेशवासीलाई गर्व हुने नतिजा आउनेछ” भन्नुभयो ।

८ टोली सहभागी एनपिएल क्रिकेट प्रतियोगिता मङ्सिर १ गतेदेखि काठमाडौँस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने छ ।

अन्नपूर्ण आधार शिविरबाट पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक गर्ने तयारी गरिए पनि प्रतिकुल मौसमले गर्दा उच्च हिमाली भेगमा हिमपात र पोखरा क्षेत्रमा मङ्गलवार बिहानैदेखि पानी परेकोले अर्को दिनमा उक्त कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

उक्त अवसरमा दुई जना सामाजिक अभियन्ताहरूलाई सम्मान गरिएको छ । कोभिडको समयदेखि सडकमा रहेका कुकुरलाई नियमित रुपमा खाना खुवाउँदै आउनुभएकी झरना नेपाली र सामाजिक अभियन्ता यूटुवर सम्राट थापा मगरलाई सम्मान गरिएको हो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button