छठ पर्वका लागि रौतहटमा विशेष सुरक्षा व्यवस्था
रौतहट । रौतहटमा सुरु भएको आस्थाको महान् पर्व छठका अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहटले विशेष सुरक्षा योजना लागू गरेको छ । चार दिनसम्म मनाइने यो पर्वमा जिल्लाभरका नदी–पोखरी र घाटहरूमा ठूलो भीड हुने भएकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सशस्त्र प्रहरी बलको डिजास्टर टोली गरी सयौँ सुरक्षाकर्मीहरू परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रनिगाहपुर, कटहरिया, मौलापुर, इशनाथ, परोहा, फतुवा विजयपुर, वृन्दावनलगायतका बजार क्षेत्र तथा प्रमुख छठ घाटहरूमा प्रहरीको विशेष गस्ती र पेट्रोलिङ बढाइएको छ । “छठ घाटहरूमा भीड व्यवस्थापनदेखि लिएर रातभर पूजामा सहभागी हुने व्रतालुहरूको सुरक्षासम्म ध्यान दिइएको छ,” एसपी कार्कीले बताउनुभयो ।
यस वर्ष जिल्लामा भएको डुबान र नदीको प्रवाहलाई दृष्टिगत गर्दै सशस्त्र प्रहरी बलको डिजास्टर टोली पनि तयारी अवस्थामा राखिएको छ । सशस्त्र प्रहरीका एसपी राम हरि अधिकारीका अनुसार रौतहटमा रहेका सशस्त्र प्रहरीका १४ वटा युनिटका जनशक्ति घाट सरसफाइ र सुरक्षामा खटिनुभएको छ । आज मुख्य अर्घ्यका लागि थप एक सय सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।
छठ पर्वमा व्रतालु महिला तथा छोरी–बुहारीहरू महँगा गहना लगाइ घाटसम्म पुग्ने भएकाले सुरक्षा संवेदनशीलता बढेको एसपी अधिकारीले जानकारी दिनुभयो । त्यसका लागि प्रहरी प्रशासनले महिलामैत्री सहायता डेस्क, भीड नियन्त्रण टोली र गस्ती समूहहरू स्थापना गरेको छ ।
घाट क्षेत्रमा रातभर उज्यालोको व्यवस्था, पानीमा डुब्ने सम्भावना भएका स्थानमा रसी (डोरी) र बेरीकेडिङ समेत गरिएको छ । जिल्ला प्रहरी प्रमुख कार्कीले भन्नुभयो, “हामीले प्रत्येक नगरपालिका र गाउँपालिकामा प्रहरी–सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरेका छौँ । कुनै पनि अप्रिय घटना हुन नदिन पूर्ण सतर्कता अपनाइएको छ ।”
त्यसैगरी, सवारी व्यवस्थापन सहज बनाउन राजमार्ग र बजार क्षेत्रका मुख्य चोकहरूमा ट्राफिक प्रहरी परिचालन गरिएको छ । गौर–चन्द्रनिगाहपुर सडक खण्ड र छठ मनाइने प्रमुख पोखरी आसपासमा वन–वे प्रणाली लागू गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले नागरिक र श्रद्धालुहरूलाई पनि सहयोग र सचेत रहन आग्रह गर्नुभएको छ । “सुरक्षा सबैको साझा जिम्मेवारी हो, नागरिकको सहयोगले मात्र हामीले यो पर्व शान्तिपूर्ण बनाउन सक्छौँ,” प्रहरी प्रमुख कार्कीको भनाइ छ । सुरक्षा निकायको उच्च सतर्कता र स्थानीयको सक्रिय सहभागितासँगै रौतहटमा यस वर्षको छठ पर्व शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्