तपाईँ सुन्दै हुनुहुन्छः

सतीघाटमा ६ महिनापछि पुनः सञ्चालनमा आयो फेरी

भोजपुर। उत्तरीबाट भोजपुर र सङ्खुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा ६ महिनापछि पुनः सञ्चालनमा आएको छ ।

वर्षातका कारण गत जेठ महिनादेखि बन्द रहेको फेरी आजबाट पुनः सञ्चालनमा ल्याइएको हो ।

अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन् । वर्षातको समयमा नदीको बहाव तीव्र भएपछि छ महिना अघिबाट फेरी सञ्चालन बन्द गरिएको थियो । 

फेरी नचल्दा भोजपुरको उत्तरी क्षेत्रका नागरिकले आवतजावतमा ठुलो कठिनाइ भोग्दै आएका थिए । फेरी पुनः सञ्चालन भएसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिकलाई सहजता भएको षडानन्द नगरपालिका उपप्रमुख प्रमिला राईले बताउनुभयो ।

फेरी बन्द रहेका बेला स्थानीयले झोलुङ्गे पुलमार्फत पिठ्यूँमा बोकेर खाद्य सामग्री तथा आवश्यक वस्तु ओसार्न बाध्य भएका थिए । वि.स. २०७६ सालदेखि सञ्चालनमा आएको यो फेरी हालसम्म उत्तरी क्षेत्रका लागि प्रमुख यातायात पार गर्ने माध्यम बनेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button