तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा छठ पर्वको रौनक, बागेश्वरी मन्दिरको तलाउ ‘छठीघाट’ मा परिणत

नेपालगञ्ज । सूर्यदेवको उपासना गर्दै मनाइने छठ पर्वको रौनक यतिबेला नेपालगञ्जमा पनि देखिएको छ । नेपालगञ्जस्थित बागेश्वरी मन्दिर परिसरभित्र रहेको तलाउलाई यस वर्ष ‘छठीघाट’का रूपमा आकर्षक ढंगले सजाइएको छ ।

हरेक वर्ष पूजा–अर्चना गर्ने व्रतालुहरूको संख्या बढ्दै जाँदा नेपालगञ्जमा छठ पर्वको भव्यता पनि निरन्तर बढ्दो क्रममा छ । विशेष गरी बागेश्वरी मन्दिर परिसरमा रहेका भक्तजनहरूको भीडका कारण यहाँको वातावरण झकिझकाउ बनेको छ ।

तलाउ क्षेत्रमा टेण्ट र विजुली बत्तीको सजावट, बाजागाजा र सांस्कृतिक भजन मञ्चको व्यवस्था, साथै घाटको सरसफाइ र सुरक्षाको तयारी समेत गरिएको छ ।

आज छठ पर्वको मुख्य दिन हो । आज साँझ व्रतालुहरूले पूजा सामग्री जलाशय घाटमा लिएर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् भने भोलि मंगलबार विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको मुख्य विधिहरू सम्पन्न हुन्छन् ।

चार दिनसम्म चल्ने यस पर्वको पहिलो दिन व्रतालुहरूले नुहाएर अरबा–अरबाइन खाने, दोस्रो दिन खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने, र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने परम्परा रहिआएको छ ।

पहिले मुख्यतः पूर्वी तराईका बासिन्दाले धुमधामका साथ मनाउने यो पर्व अहिले पश्चिम नेपालसहित देशभरका सहरहरूमा पनि उल्लासका साथ मनाइने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button