तपाईँ सुन्दै हुनुहुन्छः

छठ पूजाका लागि ३८ लाख रुपैयाँको केरा बिक्री

झापा । यो वर्षको छठ पूजाका लागि बिर्तामोडको कृषि थोक बजारबाट करिब साढे ३८ लाख रुपैयाँ बराबरको केरा बिक्री भएको छ ।

छठ पूजाका लागि व्रतालुहरूले तीन दिनमा बिर्तामोडको कृषि थोकबाट त्यति धेरै मूल्यको केरा खरिद गरेको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ ।

छठ पर्वका लागि प्रतिदिन १५ सय घरीका दरले केरा बिक्री भएको कृषि बजार व्यवस्थापन समितिकी तथ्याङ्क सहायक माया राजवंशीले जानकारी दिनुभयो । उहाँले केराको घरी ३५० देखि ९०० रुपैयाँसम्म बिक्री भएको जानकारी दिनुभयो ।

झापा जिल्लाको एक मात्र केरा बजार बिर्तामोड कृषि थोकमा इलामको दानाबारी, महमाई, झापाको खुदुनाबारी, शनिश्चरेलगायतका स्थानबाट केरा बिक्रीका लागि आउने गरेको छ । त्यहाँबाट झापाका विभिन्न ठाउँसँगै विराटनगर र काठमाडौँसम्म केरा आपूर्ति हुने गरेको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button