पर्यटकले भरिभराउ घान्द्रुक, जानुअघि जानकारी लिन व्यवसायीको आग्रह
कास्की । पर्यटकीय गाउँ घान्द्रुकमा अहिले पर्यटकको चाप ह्वात्तै बढेको छ । तिहार सकिए लगत्तै घान्द्रुकमा पर्यटकको ओइरो लागेपछि पर्यटनव्यवसायीहरुलाई ठाउँ व्यवस्थापन गर्नसमेत हम्मे हम्मे परेको छ । शुक्रबार मात्र ३ हजारको हाराहारीमा पर्यटक घान्द्रुक पुगे ।

शुक्रबार घान्द्रुक पुगेका मध्ये ५ सय जति बास नपाएर फर्कनु परेको घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो । ‘तिहार सकिए लगत्तै पर्यटकको राम्रै चहलपहल छ । सबैभन्दा बढी हिजो ३ हजारको हाराहारीमा पाहुना आएका थिए । केही फर्किए पनि उहाँले भन्नु भयो , ‘घान्द्रुकमा एकदमै राम्रो छ,अहिले चाडबाड सकिएकाले पनि होला ।’
घान्द्रुक भरिभराउ हुँदा पाहुना व्यवस्थापनमा हम्मे-हम्मे परेको अध्यक्ष गुरुङको भनाइ थियो । घान्द्रुक जाने योजना बनाएका पाहुनाहरूलाई एकपटक जानकारी लिई अग्रिम बुकिङ गरेर मात्र आउन उहाँले आग्रह गर्नुभएको छ । ‘घुम्न आएका पाहुनाहरूलाई बास छैन भनेर फर्काउन पनि भएन । हामीले मिलाएर त राखेकै छौँ,’ अध्यक्ष गुरुङले भन्नुभयो , ‘पाहुनाहरूको सुविधाका लागि उहाँहरू आफैले सिजनको समयमा हामीसँग समन्वय गरेर आउनुभयो भने राम्रो हुन्थ्यो ।’
घान्द्रुकले एक रातमा २ हजार देखि २२ सय पर्यटक राख्ने सक्ने उहाँले बताउनुभयो । यसका लागि ६३ वटा होटल र ३७ होमस्टे छन् । यदि पाहुना बढी भएको अवस्थामा गाउँको घरहरूमा व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्