तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा सम्पन्न भाइटिका महोत्सव, १२ देशका एक सय पर्यटक सहभागी

पोखरा  । पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विगत लामो समयदेखि हुँदै आएको भाइटिका महोत्सवको १८औँ संस्करण यस वर्ष पनि पोखरामा भव्य रूपमा सम्पन्न भएको छ । 

होटल सङ्घ पोखरा नेपालद्वारा तिहारको अवसरमा आयोजना गरिएको महोत्सवमा १२ देशका एक सय जना विदेशी पर्यटकले सहभागी भएको सङ्घले जनाएको छ ।

लेकसाइडस्थित होटल पौवामा आयोजना गरिएको महोत्सवले संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पोखराको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने लक्ष्य लिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । पछिल्ला राजनीतिक तथा आर्थिक कारणले प्रभावित पर्यटन क्षेत्रलाई पुनः गतिमा फर्काउन महोत्सवले सकारात्मक टेवा पुर्‍याउने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

बेलायत, अष्ट्रेलिया, नेदरल्याण्ड, अमेरिका, ईजरायल, चीन, भारत, जर्मनी, स्विट्जरल्यान्ड, सुईडेन, स्पेन र न्यूजिल्यान्ड सहित १२ देशका पर्यटकहरूले नेपाली परम्परा अनुसार सप्तरङ्गी टिका लगाएका छन् । कतिपय पर्यटकले विगतका वर्षहरूमा पनि सहभागी भई पुनः टिका लगाउन आएको अनुभव सुनाएका थिए । 

अष्ट्रेलियाकाकी एनीले आफू नेपाल धेरै पटक आएको बताउँदै यस महोत्सवले समेत आफूहरूलाई यो सिजनमा नेपाल भ्रमणमा आउन प्रेरित गरेको सुनाउनुभयो । 

कार्यक्रममा रेन्बो चिल्ड्रेन होमका बालिकाहरूले विदेशी पाहुनालाई टिका लगाइदिएका थिए भने उनीहरूले भाइटिका पर्वको परम्परा अनुसार पुरुष पर्यटकलाई ढाका टोली र महिलाहरूलाई पछ्यौरा उपहार प्रदान गरिएको थियो । सप्तरङ्गी टिका लगाएका पर्यटकहरू नौलो अनुभव लिन पाएको भन्दै दङ्ग परेका थिए । 

सहभागीहरूलाई तिहारको सांस्कृतिक र धार्मिक महत्त्व झल्काउन तथा बुझाउन दीपावली तथा तिहारका पाँचै दिनका विशेषताबारे जानकारी गराउँदै देउसी भैलो समेत कार्यक्रमसहित आगन्तुक पाहुनालाई नृत्य समेत गराइएको थियो । 

संस्कृति संरक्षणसँगै यसै माध्यमबाट विदेशी पर्यटक आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सव पोखराको अर्को आकर्षक पर्यटकीय उत्पादनका रूपमा विकसित हुँदै गएको आयोजक सङ्घले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button