तपाईँ सुन्दै हुनुहुन्छः

रोनाल्डो सबैभन्दा बजारयोग्य खेलाडी सूचीको पहिलो स्थानमा

काठमाडौँ । केही दिनअघि फोर्ब्सले सार्वजनिक गरेको सर्वाधिक आम्दानी गर्ने फुटबलरको सूचीमा शीर्ष स्थानमा रहेका क्रिस्टियानो रोनाल्डो फेरि अर्को सूचीमा पनि अग्रस्थानमा उक्लिएका छन् ।

यसपटक उनले स्पोट्र्स प्रोले प्रकाशन गरेको विश्वका ५० जना सबैभन्दा बजारयोग्य खेलाडीको सूचीमा पहिलो स्थान हासिल गरेका छन् । युनाइटेड किङ्डममा आधारित खेल व्यवसायसम्बन्धी मिडिया स्पोट्र्स प्रोले यो सूची तयार गर्न तीन मुख्य मापदण्ड ब्रान्ड शक्ति, बजार प्रभाव (टोटल एड्रेसेबल मार्केट) र आर्थिक मूल्याङ्कनलाई आधार बनाएको थियो । यसमा खेलाडीहरूलाई १०० अङ्कमा मूल्याङ्कन गरिएको थियो ।

यस वर्षको सूचीमा शीर्ष चार स्थानमा कुनै पनि फुटबलर छैनन् । तर, शीर्ष १० मा दुई जना फुटबलर परेका छन् । सूचीको पाँचौँ स्थानमा र फुटबलरमध्ये शीर्षमा छन् ४० वर्षका पोर्चुगाली स्टार क्रिस्टियानो रोनाल्डो । उनी गत वर्षको तुलनामा चार स्थान माथि उक्लिएका हुन् ।

केही हप्ता अघि फोर्ब्सको सर्वाधिक आम्दानी गर्ने फुटबलर सूचीमा पनि उनी नै पहिलो थिए । उनको पछिल्ला स्थानमा छन् ब्राजिलियन स्टार नेयमार जुनियर । चोटका कारण मैदानबाट टाढा रहे पनि बजारमा उनको प्रभाव अझै बलियो छ ।

यस वर्षको समग्र सूचीमा सबैभन्दा बजारयोग्य खेलाडी बनेका छन्, ब्रिटिस फर्मुला–वान चालक लुइस ह्यामिल्टन ।

गत वर्ष शीर्ष स्थानमा रहेकी अमेरिकी जिम्नास्ट सिमोन बाइल्स यसपटक दोस्रो स्थानमा झरेकी छन् । तेस्रो स्थानमा अमेरिकी रग्बी खेलाडी इलोना माहेर र चौथो स्थानमा अमेरिकी बास्केटबल स्टार स्टीफन करी छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button