तपाईँ सुन्दै हुनुहुन्छः

तत्कालीन महानिर्देशक मिश्रासहित १४ जनाउपर भ्रष्टाचारको अभियोगमा आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. सङ्गीता कौशल मिश्रासहित १४ जनाउपर विभागको ‘मेमोग्राफी’ मेसिन खरिदका क्रममा झुट्टा विवरण र बिल पेस गरी भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।

निजहरूले लागत अनुमान तयार गर्दा सम्झौताको सर्तबमोजिम  सम्पूर्ण सामग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामग्री आएको भनी गलत दाखिला प्रतिवेदन, झुठो बीलबिजकलगायत तयार गरी/गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको अभियोगमा आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ । 

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार तत्कालीन महानिर्देशक डा. मिश्रा, विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसिया, विभागका निर्देशक डा. विवेककुमार लाल, विभागका तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, विभागका कानुन अधिकृत सीता घिमिरे, विभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी, विभागका तत्कालीन शाखा अधिकृत यादवप्रसाद सापकोटाविरुद्ध जनही रु १४ करोड छ लाख ८५ हजार ५०० बिगो कसुर तथा सजायको मागदाबी गरिएको छ । 

यसैगरी, विभागका तत्कालीन लेखा अधिकृत शम्भुप्रसाद ढकाल, विभागका लेखापाल तिलकराम ढकाल, स्वास्थ्य सेवा विभागका बायोमेडिकल इन्जिनियर आशिष चौहान, विभागका तत्कालीन बायोमेडिकल इन्जिनियर पद्मा मिश्र, विभागको केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार साह, म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने सुन्दर भुसालविरुद्ध जनही रु १४ करोड छ लाख ८५ हजार ५०० बिगो कसुर तथा सजायको मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button