झाझ खोलामा डुबेर दुई बालकको मृत्यु
रौतहट । रौतहटको गरुडा नगरपालिका–५ शिवनगरस्थित शिव मन्दिर नजिकै झाझ खोलामा शनिबार दिउँसो नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार झाझ खोलामा डुबेर मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–३ निवासी सञ्जीव साहका १० वर्षीय छोरा निरज साह र उहाँका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साह रहेको हो ।
घटना शनिबार दिउँसो करिब १ बजेको हो । नुहाउने क्रममा बालकहरू खोलामा डुबेका थिए । स्थानीयवासीले दुवै जनालाई डुबेको देखेपछि तत्काल उद्धार गरी शिवनगरस्थित सञ्जीवनी अस्पताल पुर्याउनुभएको थियो । तर, चिकित्सकले दुवै बालकलाई मृत घोषणा गर्नुभएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी शङ्कर आचार्यले जानकारी दिनुभयो ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय शिवनगरबाट वरिष्ठ सई र इप्रका गरुडाबाट प्रहरी निरीक्षक नरेश बोहराको कमाण्डमा टोली खटिनुभएको थियो । प्रहरीले डुबेको स्थानको मुचुल्का उठाई आवश्यक अनुसन्धान अघि बढाएको डिएसपी आचार्यले बताउनुभयो ।
उहाँका अनुसार मृत बालकहरूको शव प्रादेशिक अस्पताल गौरमा पोष्टमार्टमका लागि पठाइएको छ ।
देवाही गोनाही नगरपालिका–३ का व्यवसायी सञ्जीव साह शिवनगर चोकमा डीभीएस मोटरसाइकल शो–रुम सञ्चालन गर्दै आएका थिए । शनिबार दिउँसो आफ्नो व्यापारमा व्यस्त रहेका बेला उहाँका छोरा र भतिज नुहाउन झाझ खोलातर्फ गएका थिए । नुहाउने क्रममा खोलाको गहिरो भागमा पुगेपछि उहाँहरू डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्