किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

सुदूरपश्चिम । वडादसैँको समयमा प्रतिकूल मौसमका कारण खेतमा पाकेको धानबाली भित्र्याउन नपाएका कैलालीका किसान यतिबेला धान भित्र्याउन व्यस्त देखिन्छन् । उज्यालो पर्व दिपावलीको उमङ्ग छाइरहँदा किसानलाई खेतमा पाकेर पहेँलपुर भएको धानबाली काटेर भित्र्याउन भ्याइनभ्याई भएको हो ।
धनगढी उपमहनगरपालिका–१३ का किसान चेतराज भट्टले दुई साताअघि खेतमा पाकेर झुलिसकेको धान मौसममा सुधार भएसँगै बल्ल काटेर भित्र्याउन पाइएको बताउनुभयो । जिल्लामा यो वर्ष धानको फसल राम्रो देखिएको बताएउँदै उहाँले भन्नुभयो, “केही क्षेत्रमा रोग÷कीराको समस्या देखिए पनि अधिकांश ठाउँमा यसपालि धान उत्पादन राम्रो देखिएको छ ।”
दसैँको समयमा भएको वर्षाले प्रदेशका कैलालीसहित जिल्लाका कतिपय किसानको खेतमा काटेर सुकाइ राखिएको धानबाली भिजेर क्षति पुगेको थियो । किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली पर्दछ । घरायसी उपभोगका लागि आवश्यक पर्ने धान भण्डारण गरी बढी भएको किसानले स्थानीय व्यापारीलाई बिक्री गरेर चाडपर्वको समयमा खर्चको जोहो गर्छन् ।
कञ्चनपुरको पुरैना गाउँका किसान केशव पाठकले गाउँका किसानले आफ्नो धानको उचित मूल्य नपाइरहँदा चाडपर्वका बेला खर्चको जोहो गर्न समस्या भइरहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँका व्यापारीले मुस्किलले नयाँ धानको मूल्य प्रतिक्विन्टल रु दुई हजार ६०० तोकेर खरिद गर्ने गरेकाले किसानले उचित मूल्य पाउन सकिरहेका छैनन् ।”
दसैँ र तिहार जस्ता ठूला पर्वमा नयाँ धानको चामल पिँधेर बनाइने पिठोबाट न्वागी, माणा, सिरौलालगायत डोटेली खानाका परिकार पकाएर खाने प्रचलन सुदूरपश्चिम प्रदेशमा छ । नयाँ खाद्यान्यको चामल वा पिठोबाट परिकार बनाएर खानुअघि देवीदेवतालाई चढाउनुपर्ने परम्परा रहेको पाठकले बताउनुभयो ।
धान, गहुँलगायत बाली काट्नुअघि नयाँ बाला काटेर आ–आफ्नो घरको दैलोमा र कूलदेवताको मन्दिरमा गाईको गोबरले टाँसेर पूजा गर्ने प्रचलन प्रदेशमा छ । यसलाई ‘देलीबालो’ लगाउने भनिन्छ । देलीबालो लगाउँदा कूलदेवता खुसी हुने, अन्न उत्पादन बढ्ने र भण्डारण गरिएको खाद्यान्य सुरक्षित हुने विश्वास गरिन्छ ।
प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान पहाडका जिल्लामा आपूर्ति हुन्छ । प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको प्रदेशस्थित कृषि विकास निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धानखेती हुने गरेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरा जिल्लामा गरी करिब ६० हजार ४०६ हेक्टरमा बर्खे धानखेती हुन्छ । पछिल्लो दशकमा धान बालीको उत्पादन र उत्पादकत्व बढ्दै गएको कृषि प्राविधिकको भनाइ छ ।
खेत खनजोत गर्ने, बाली काट्ने, झार्नेलगायत काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि खेती गर्न सहज भएको किसान बताउँछन् । आधुनिक कृषि औजारको प्रयोगले खेती गर्दा समयको बचत हुनुका साथै परिश्रम कम गर्नुपर्ने हुँदा खेती गर्न सहज भइरहेको कृषकको अनुभव छ । रासस
प्रतिक्रिया राख्नुहोस्