पोखरामा प्लास्टिकका फूल र मालाको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध
कास्की । पोखरा महानगरपालिकाले आगामी तिहारदेखि प्लास्टिकका फूल र मालाको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा १ अनुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले २०७९ साउन १८ मा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै प्लास्टिकका फूल गुच्छाको बिक्री, वितरण र भण्डारणमा रोक लगाएको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै पोखरा महानगरपालिकाले पनि यस वर्षको तिहारदेखि यस्ता उत्पादनको प्रयोगमा कडाइ गरेको हो ।

महानगरपालिकाले जारी गरेको सूचनामा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र वातावरणमा नकारात्मक असर पर्न नदिनका लागि प्लास्टिकका फूल गुच्छाको सट्टा स्थानीय तथा प्राकृतिक फूलको प्रयोग गर्न आग्रह गरिएको छ । यस अभियानलाई सफल बनाउनका लागि सम्पूर्ण सरकारी, गैरसरकारी सङ्घसंस्था, व्यवसायी, उपभोक्ता र सर्वसाधारणको सहयोगको अपेक्षा महानगरले गरेको छ । ‘कृषि मूल्यस् जीवनम्’ भन्ने नाराका साथ महानगरपालिकाले यो पहल अघि बढाएको हो ।
प्लास्टिकका फूल र मालाले वातावरणमा प्रदूषण बढाउनुका साथै माटोको उर्वरता घटाउने, जल निकासी प्रणालीमा अवरोध पुर्याउने र स्वास्थ्यमा पनि नकारात्मक असर पार्ने अध्ययनले देखाएको छ । यसले गर्दा महानगरपालिकाले दिगो वातावरणीय अभ्यासलाई प्रोत्साहन गर्न र स्थानीय कृषि अर्थतन्त्रलाई टेवा पुर्याउन यो कदम चालेको हो ।
यो प्रतिबन्धले तिहार, छठजस्ता पर्वहरूमा प्रयोग गरिने प्लास्टिकका माला र फूल गुच्छाको आयात र बिक्रीमा कमी आउने अपेक्षा गरिएको छ । यसको सट्टा स्थानीय किसानले उत्पादन गरेका फूलहरूले बजार पाउने र उनीहरूको आयमा वृद्धि हुनेछ । यसले गर्दा ग्रामीण अर्थतन्त्रलाई पनि टेवा पुग्नेछ ।
पोखरा महानगरपालिकाले यसअघि पनि विभिन्न वातावरणीय संरक्षणका अभियानहरू सञ्चालन गर्दै आएको छ । प्लास्टिकका झोलाको प्रयोगमा नियन्त्रण, फोहोरमैला व्यवस्थापनमा सुधार र हरियाली प्रवर्द्धनजस्ता कार्यहरू यसअघि पनि भएका थिए । यसै क्रममा प्लास्टिकका फूल गुच्छामाथि लगाइएको प्रतिबन्ध पनि वातावरणीय दिगोपनका लागि अर्को महत्त्वपूर्ण कदम हो ।
महानगरपालिकाले उपभोक्ताहरूलाई पनि यो अभियानमा साथ दिन अपिल गरेको छ । प्लास्टिकका फूल र मालाको सट्टा स्थानीय रूपमा उत्पादित फूल, वा प्राकृतिक सामग्रीबाट बनेका सजावटका सामानहरू प्रयोग गर्न प्रोत्साहन गरिएको छ । यसले गर्दा वातावरण संरक्षणमा सबैको भूमिका सुनिश्चित हुनेछ । महानगरपालिकाले यस निर्णयको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन गर्ने र उल्लङ्घन गर्नेलाई कारबाही गर्ने पनि जनाएको छ । यसले गर्दा यो प्रतिबन्ध पूर्ण रूपमा कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्