तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलन: सुनसरीका ३३ सरकारी कार्यालयमा क्षति, १ अर्ब १७ करोड बढीकाे नोक्सानी

सुनसरी। जेनजी समूहको आन्दोलनका कारण सुनसरीमा रहेका ३३ वटा सरकारी कार्यालय तोडफोड हुँदा १ अर्ब १७ करोड ३३ लाख ८३ हजार बराबरको क्षति हुन पुगेको प्रारम्भिक विवरण सङ्कलन भएको  छ । 

क्षतिग्रस्त भएका सरकारी कार्यालयहरूको प्रहरीले उठाएको मुचुल्काका आधारमा विवरण सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यलय सुनसरीले जनाएको छ  । सुनसरीमा दुई जनाको ज्यान जाने गरी भएको प्रदर्शनमा आगजनी र तोडफोड हुँदा  सो बराबरको सरकारी कार्यालयहरूको क्षतिको विवरण सङ्कलन गरिएको हो । 

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा सुनसरीमा तीन वटा प्रादेशिक कार्यलय सहित दुई दर्जन भन्दा बढी सरकारी कार्यालयमा आगजनी भएको थियो । प्रहरीका ७३ प्रहरी कार्यालय विस्थापित भएका थिए । तीमध्ये १० वटा प्रहरी कार्यालयमा आगजनी गरी ठुलो क्षति पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिनुभयो । आन्दोलनकारीहरूले इलाका प्रहरी कार्यालय इटहरी, पकली र चौकीहरू खनार, हलगडा, बुढिखोला, कालाबञ्जर, चादबेला, एकम्बामा लगायतका चौकीमा आगजनी र तोडफोड गरेका थिए ।

इटहरीस्थित कोसी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा समेत आगो लगाएर क्षति पुर्‍याइएको छ । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय, राजश्व अनुसन्धान इकाईको कार्यलय, यातायात कार्यालय , इटहरी उपमहानगरपालिका ,कोसी गाउँपालिका भोक्राहा गाउँपालिका , दुहबी नगरपालिका ,इनरुवा नगरपालिका, वराहक्षेत्र नगरपालिका लगायतमा आगजनी गरेर ध्वस्त बनाइएको छ ।

क्षति पुगेका मध्ये इटहरी उपमहानगरमा मात्रै २५ करोड १० लाख ४५ हजार ४ सय ३ रुपैयाँको सरसामान जलेर नष्ट भएको विवरण सङ्कलन भएको प्रशासनले जानकारी दिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button