एमाले केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको १० औँ केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ ।

ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय मुलुकमा अप्रत्याशित रुपमा घटेको प्रतिक्रान्तिको घटनाले मुलुक बरबादीतर्फ धकेलिएको बताउनुभयो ।

बैठकको आरम्भमा अध्यक्ष ओलीले मुलुकको वर्तमान अवस्थालाई लोकतान्त्रिक जनपक्षीय र शान्तिपूर्ण रुपमा समाधान गर्न राजनीतिक दलहरू एक हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

आजै पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको पार्टीका महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा सरकार गठन प्रक्रिया र प्रतिनिधिसभा विघटन, वर्तमान सरकारको गतिविधिलगायतका विषय समेटिएको एमालेले जनाएको छ ।

पार्टी अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न ३ मिनेट समय दिइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्