नेपालगन्ज बसपार्कमा प्रहरी छापा: ४५ जना नियन्त्रणमा
बाँके।नेपालगन्ज बसपार्क क्षेत्रमा राति हुने अवैध यौन व्यवसाय र लागूऔषध कारोबारमा प्रहरीले कारबाही गरेको छ।
जिल्ला प्रहरी प्रमुख एसपी अंगुर जिसीले सादा पोसाकमा अनुगमन गर्दै बिहीबार राति मिलन कटेज, भेरी–कर्णाली होटेल, रिभरसाइड र दँगाली होटेलमा छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमध्ये ८ जना भारतीय नागरिक रहेका छन्। होटेल सञ्चालक र व्यवस्थापकहरू समेत पक्राउ परेका छन्।
एसपी जिसीले बसपार्क क्षेत्रमा राति ९ बजेपछि हुने सन्देहास्पद गतिविधि नियन्त्रणमा राख्न मोबाइल पेट्रोलिङ र प्रहरी निगरानी बढाइएको बताए। उनले भने, “मैदानमै पुग्ने प्रहरी शैली अपराध नियन्त्रणको प्रभावकारी उपाय हो।”
उनले भारतसँगको खुला सीमाका कारण नेपालगन्जमा अवैध कारोबार बढेको उल्लेख गर्दै स्थानीय व्यवसायीहरूसँग सहमति गरेर ग्राहक परिचय अनिवार्य गर्ने नियम लागू गरिएको जानकारी दिनुभयो।
नेपालगन्जको बसपार्कमा राति पनि प्रहरीको सक्रिय उपस्थितिले अपराधीहरूका लागि चेतावनी बन्न थालेको छ।







प्रतिक्रिया राख्नुहोस्