कतारसँग खेल्दै नेपाल
काठमाडौँ । नेपालले ओमानमा जारी आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा आज कतारसँग खेल्दै छ । खेल नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

हिजो नेपालले युएईलाई १ रनले हराएर सनसनी मच्चाएको थियो । अन्तिम ओभरमा नेपालले खेल आफ्नो पक्षमा पार्दै जारी छनोटमा अपराजित यात्रालाई कायमै राखेको छ । आज यही सिलसिलालाई निरन्तरता दिएको खण्डमा नेपालको लगातार दोस्रो र समग्रमा तेस्रो पटक विश्वकप खेल्ने सम्भावना बलियो हुनेछ ।
नेपालको बलियो पक्ष अल राउन्ड प्रदर्शन गर्न सक्ने खेलाडी नै हुन् । जुन युएई विरुद्धको खेलमा पनि देखियो । फिल्डिङमा नेपाल सधैँ चुस्त रहने गर्दछ । नेपालको ब्याटिङ मिडल अर्डरले प्रभावकारिता बढाउन आवश्यक छ । मिडल अर्डरबाट रन बन्न सकेको छैन ।
नेपाल सुपर सिक्सको अंक तालिकामा ४ अङ्कसहित रन रेटको आधारमा दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको ओमानको पनि ४ अंक नै रहेको छ ।
सुपर सिक्समा कतारले ओमान सँगको पहिलो खेल गुमाएको थियो । कतारको लागि पनि आज जित्नै पर्ने दबाब रहेको छ । कतार अंक तालिकाको पाँचौँ स्थानमा रहेको छ । समूह चरणमा कतार युएईसँग ७ विकेटले पराजित भएको थियो । अर्को खेलमा मलेसियालाई ८ विकेटले हराएको थियो । यस्तै सुपर सिक्समा कतार ओमानसँग ३४ रनले हारेको थियो ।
नेपाल र कतारबिच अहिलेसम्म ३ पटक टी–ट्वान्टी आइमा तीन पटक खेलेको छ । जसमा नेपालले २ खेल जित्दा १ खेल हारेको छ ।
प्रतिक्रिया राख्नुहोस्