तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा होटल अकुपेन्सी ३० प्रतिशत 

पोखरा । पर्यटनको राजधानी पोखरामा पर्यटकको चहल पहल बढेको छ । नेपालीहरूको महान् पर्व विजयादशमीपछि पोखरामा पर्यटकहरूको आगमनमा शनिबारदेखि वृद्धि भएको पर्यटन व्यवसायीहरूले बताउनुभयो । 

पोखरामा पर्यटकको चहलपहल बढेसँगै पोखराका पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरूको भिडभाड भएको छ । पोखराको मुख्य पर्यटकीय स्थल फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरूको ढुङ्गा सयर गर्न शनिबार निकै भिड भएको छ । 

पोखराको बाराहीघाटमा लाइभ ज्याकेट लिने र ढुङ्गा सयर गर्नेहरूको बिहानैदेखि भिडभाड भएको फेवा ढुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले बताउनु भयो । दशैं पर्व पछि पोखराको फेवातालमा आउने पर्यटकहरूको सङ्ख्यामा शनिबार ह्वात्तै वृद्धि भएकोले आफूहरू निकै उत्साहित भएको उहाँले बताउनु भयो । 

फेवातालको बीचमा रहेको तालबराही मन्दिर दर्शन गर्नको लागि ढुङ्गाबाट आवतजावत गर्नको लागि लाइफ ज्याकेट सहित प्रति व्यक्ति १०० रुपैयाँ शुल्क लिने गरिएको छ । फेवातालमा काठको डुङ्गामा प्रतिघण्टा सयर गर्दा रु.९०० र प्याडल बोट  प्रतिघण्टा १ हजार ६ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । 

पोखरामा हिजोआज दैनिक जसो २०० देखि २५० भन्दा बढी पर्यटकहरू प्याराग्लाइडिङ गर्न थाल्नुभएको नेपाल हवाई खेलकुद संस्था ना का अध्यक्ष अनिल केसीले बताउनुभयो । 

पर्यटकहरूको चहलपहल बढेसँगै पोखराका होटेलहरूको अकुपेन्सी ३०% पुगेको छ । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले होटेलहरूमा अकुपेन्सी हाल ३०% रहेको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button