तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा जलेका सवारीसाधन पुनःनिर्माण गर्ने तयारी

पोखरा । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका सवारीसाधनहरू पुनःनिर्माण गर्न गण्डकी अटो मेकानिकल वक्र्स एसोसिएसन पोखराले अग्रसरता देखाएको छ । एसोसिएसनले बिहीबार कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी अधिकारीलाई भेटी ध्यानाकर्षण पत्र बुझाउँदै, आगलागीबाट जलेका सरकारी तथा निजी सवारीसाधनलाई सहुलियत मूल्यमा मर्मत गरी पुनः सञ्चालनमा ल्याउन सकिने प्रस्ताव प्रस्तुत गरेको हो ।

पोखराभित्र हालसम्म ३ सयदेखि ४ सय ५० सवारीसाधनहरू जलेका वा क्षतिग्रस्त अवस्थामा रहेको एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो,“हामीसँग पर्याप्त दक्ष प्राविधिक जनशक्ति छ, इन्जिनियर हायर गरेर, आफ्नै सीप र अनुभव प्रयोग गरी यी गाडीहरू नयाँजस्तै बनाउन सक्छौँ, यसमा सबैको साथ र सहयोग आवश्यक पर्‍यो ।”

क्षतिग्रस्त सवारीसाधन नयाँ गाडीको मूल्यको १० देखि ३० प्रतिशत लागतमा पुनःनिर्माण गर्न सकिने सम्भावना रहेको अध्यक्ष अधिकारीले दाबी गर्नुभयो । यसले सरकारी खर्चमा ठूलो बचत हुने र देशको स्रोत तथा सीपको उपयोग बढाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो“फलाम डढ्दैन, हामी ग्यारेन्टी सहित मर्मत गर्न तयार छौँ, यसबाट रोजगार सिर्जना हुनेछ, देशको पैसा बाहिर जानबाट जोगिनेछ, हजारौँ युवाको रोजगारसँगै बचत हुने छ ।”

एसोसिएसनले जलेका सवारीसाधनलाई कवाडीमा बेच्नुभन्दा पुनः निर्माणमा लगानी गर्न सरकारको ध्यानाकर्षण समेत गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी अधिकारीले एशोसिएसनको पहललाई सकारात्मक रूपमा लिँदै, सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिनुभयो । उक्त अभियानले स्थानीय सीपको उपयोग, रोजगारी सृजना र आर्थिक चुहावट रोकथाममा ठोस योगदान पु¥याउन मद्दत पुग्ने विश्वास गरिएको छ । जेनजी आन्दोलनको क्रममा पोखरामा सरकारी तथा गैरसरकारी करिब ४ सय भन्दा बढी सवारी साधनहरू माथि आगजनी भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button