नेपालगन्जमा फोहोरको समस्या चर्किँदै, ‘सफा सहर’ अभियानमाथि प्रश्न
बाँके।नेपालगन्जलाई “सफा र हरित सहर” बनाउने घोषणाबीच पछिल्ला दिनमा शहरका मुख्य सडक क्षेत्रहरू फोहोरका थुप्रोले ढाकिएका छन्। विशेषगरी महेन्द्र बहुमुखी क्याम्पस अगाडिको नेपालगन्ज–जमुनाहा सडक खण्ड दुर्गन्ध र फोहोरका कारण सर्वसाधारणका लागि पीडादायी बनेको छ।
सडक किनारमा सडेका तरकारी, कुखुराका प्वाँख र आन्द्रा जस्ता कुहिने पदार्थको थुप्रोले वरिपरि दुर्गन्ध फैलिएको छ। दैनिक सयौँ विद्यार्थी र नागरिकहरू यही बाटो हुँदै ओहोरदोहोर गर्ने भएकाले आवत–जावत कठिन भएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार, कुखुरा फ्रेस हाउस, खसी–राँगा काट्ने व्यवसायीहरू लगायतले सडक किनारमै फोहोर फाल्ने गर्छन्, जसले विद्यार्थीको अध्ययन वातावरणसमेत प्रभावित भएको छ।
फोहोरको समस्या केवल क्याम्पस अगाडिसम्म सीमित छैन। नेपालगन्ज वडा नं. ८ अन्तर्गत रंगशाला जाने सडकमा नगरपालिकाले संकलन गरेको फोहोर थुपार्ने गरेको छ भने वडा नं. ९ का पिरलीपुरवा, महापुरवा र बाबु गाउँबीचको क्षेत्र पनि फोहोर फाल्ने थलो बनेको छ।
वडा नं. ९ का स्थानीय इमाम खानका अनुसार, “राति कसैले आएर फोहोर फालिदिन्छ। बिहान उठ्दा दुर्गन्ध र संक्रमणको डरले बाँच्नै गाह्रो हुन्छ।” उनका अनुसार, पटक–पटक उजुरी गरे पनि वडा कार्यालयले कुनै ठोस कदम उठाएको छैन।
त्यस्तै, वडा नं. ८ की उषा ठकुरीले वडा कार्यालयले घरकै अगाडि फोहोर थुपार्ने गरेको बताउँदै, “गन्धका कारण घरमा बस्नै नसक्ने अवस्था आएको छ, तर सुनुवाइ भएको छैन,” भनिन्।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले केही क्षेत्रमा देखिएको फोहोर समस्या समाधानका लागि पहल भइरहेको र निकट भविष्यमा सुधार आउने दाबी गर्नुभयो।
यद्यपि, उपमहानगरपालिकाले विगतमा सुरू गरेको “सफा, हरित र स्वास्थ्यमय नेपालगन्ज” अभियान व्यवहारमा कमजोर देखिएको छ। सरसफाइको प्रभावकारी व्यवस्था नहुँदा जनस्वास्थ्यमा जोखिम बढेको स्थानीयले बताएका छन्।
उनीहरूले उपमहानगरलाई फोहोर फाल्ने स्थानमा निगरानी क्यामेरा जडान गर्न, फोहोर फाल्ने व्यक्तिलाई कारबाही गर्न र नियमित फोहोर संकलन सेवा सञ्चालन गर्न माग गरेका छन्।
स्थानीयवासीको भनाइमा, “सफा सहरको सपना देखाउने पालिकाले हामीलाई दुर्गन्ध र रोगको जोखिममा बाँच्न बाध्य बनाएको छ।”
स्थानीयले चेतावनी दिएका छन्—यदि उपमहानगरपालिकाले तत्काल ठोस कदम नचाले, फोहोर व्यवस्थापन संकटले शहरको छविमात्र होइन, ‘सफा सहर’ अभियानकै विश्वसनीयतामाथि पनि प्रश्न उठाउनेछ।
प्रतिक्रिया राख्नुहोस्