बेलायतबाट साइकल यात्रामा निस्किएको जोडीलाई पोखरामा स्वागत
पोखरा । बेलायतबाट साइकल यात्रामा निस्किएको एक जोडी २२० दिन लामो कठिन यात्रा पूरा गरी नेपालको पर्यटन राजधानी पोखरा आइपुगेको छ । ५१ वर्षीय थोस्टर ब्रुस र उनकी श्रीमती डा. एमा ब्रुस करिब १४ हजार किलोमिटर दूरी पार गर्दै मङ्गलवार पोखरा आइपुग्नुभएको हो ।

ब्रुस दम्पतीलाई पोखरा लेक साइडमा रहेको रेन्बो चिल्ड्रेन होम, नमुना आमा समूह, पर्यटन व्यवसायी तथा स्थानीय बासिन्दाले फूलमाला अर्पण गरी स्वागत गर्नुभएको थियो । चिल्ड्रेन होमकी सञ्चालक गोमा ढकाल, पर्यटन व्यवसायी अग्नि कँडेलसहित विभिन्न व्यक्तिहरूले ब्रुस दम्पतीलाई सम्मान गर्नुभयो । ब्रुस तेस्रो पटक नेपाल आउनुभएको हो ।
ब्रुस दम्पती बेलायतदेखि सुरु भएको यात्रामा नेदरल्यान्ड, बेल्जियम, फ्रान्स, लक्जेम्बर्ग, जर्मनी, अस्ट्रिया, स्लोभाकिया, हंगेरी, सर्बिया, रोमानिया, बुल्गेरिया, टर्की, जर्जिया, अजरबैजान, काजकिस्तान, उज्बेकिस्तान, पाकिस्तान, चीन हुँदै भारत पार गरेर अन्ततः नेपाल आउनुभएको हो ।
यात्राको क्रममा पाकिस्तानमा करिब २५० किलोमिटर लामो मरुभूमि पार गर्नुपरेको र भारत प्रवेश गर्दा सीमा बन्द भएको कारण हवाई मार्गमार्फत बोर्डर क्रस गर्नुपरेको अनुभव ब्रुसले सुनाउनुभयो । दुई छोराका पिता तथा माता रहेका ब्रुस दम्पतीले आफ्नो उमेर छँदै केही विशेष गर्नुपर्छ भन्ने सन्देश दिन साइकल यात्रामा निस्किएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्