तपाईँ सुन्दै हुनुहुन्छः

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन । तुइन खोला र काली खोलामा खसेको पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार, तनहुँ, गोरखा र पोखरातर्फ जाने अत्यावश्यक सवारी साधनलाई मात्र बाटोमा पठाइएको छ। बाटो खुलेपछि मुग्लिनमा रोकिएका सवारी साधनहरू पनि भरतपुरतर्फ आउन पाएका छन्।

धादिङको ज्यामिरेघाटमा पहिरो खसेर बाटो बन्द भएकाले धादिङसहित काठमाडौं जाने सवारी पूर्ण रूपमा रोकिएका छन्। तनहुँमा एकतर्फी बाटो खुला भएकाले पोखरा जाने ठूला यात्रुबाहक बस चितवनमै रोकिएका छन्।

प्रहरीले लेन अनुशासन पालना गर्दै रोकिएका सवारीहरू होल्डिङ सेन्टरमै राख्न आग्रह गरेको छ। अत्यावश्यक बाहेक पोखरातर्फको यात्रा नगर्न प्रशासनले पनि अनुरोध गरेको छ।

चितवन प्रशासनले जोखिमलाई ध्यानमा राख्दै हिजो साँझ ६ बजेदेखि चितवनबाट बाहिरिने र भित्रिने सवारी पूर्ण रूपमा बन्द गरेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button