बाढीले झापामा ४५० परिवार विस्थापित, सडक यातायात अवरुद्ध

भद्रपुर, झापा । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण झापामा करिब ४५० घरधुरी विस्थापित भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कनकाई–माई नदीको बाढीले झापा गाउँपालिका वडा नं. २ सुगाबथानका ५६ घर विस्थापित भएका छन्। उनीहरूलाई कुवाडीदेवी माविमा राखिएको छ। शिवसताक्षी नगरपालिकाका वडाहरू ४, ५ र ६ मा करिब ३५० परिवार विस्थापित भएका छन् भने वडा ७ मा करिब १५ घर विस्थापित भएका छन्।
भद्रपुर–५ मा मेची नदीको बाढीले करिब २५ घर प्रभावित भएका छन्। मेचीनगरको सत्तीघट्टा–ज्यामिरगढी बस्तीमा पनि करिब २५ परिवारलाई अन्यत्र सारिएको छ।

साथै, निर्माणाधीन एसियन हाइवेको डाइभर्सन बगाउँदा यातायातमा अवरोध भएको छ। काँकडभिट्टाको काली खोलामा बनाइएको डाइभर्सनमा ओभरफ्लो भएको र भोला खोलाको डाइभर्सन बगाउँदा छोटो दूरीका सवारी केही हदसम्म चले पनि लामो दूरीका सवारी सञ्चालनमा रोकिएको छ।
कनकाई नदीको जलस्तर ५.६१ मिटर पुगेको छ, जसको खतरा स्तर ४.३ मिटर हो। मेची नदीको जलस्तर ११४.८४ मिटर पुग्दा खतरा स्तर ११४.३ मिटर पार गरेको छ। झापा र इलामका धेरै स्थानमा १५० मिमीभन्दा बढी वर्षा मापन गरिएको छ।
स्थिति गम्भीर बन्दै गएपछि आज बिहान झापा जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक बसेर उद्धार र राहत कार्यमा समन्वयको तयारी गरिएको छ। नेपाल रेडक्रस सोसाइटी झापा शाखाले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान नागरिकहरूलाई अनुरोध गरेको छ।
हाल झापामा वर्षा रोकिएको छ।

प्रतिक्रिया राख्नुहोस्