गण्डकी प्रदेश सभाको बैठक डाकियो
कास्की । गण्डकी प्रदेश सभाको बैठक असोज २२ गते बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार जेन्जी आन्दोलनका क्रममा प्रदेश सभा हल र सचिवालय भवन जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नयाँ स्थानमा प्रदेश सभा बैठक बस्न लागेको हो । मालेपाटनस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सभा हलमा बैठक बस्न लागिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रदेश सभा सचिव गोविन्द पौडेलद्वारा असोज १८ गते जारी सूचनामा भनिएको छ “मिति २०८२ साल भदौ २५ गते दिनको १ बजेका लागि तोकिएको गण्डकी प्रदेश सभाको बैठक विशेष कारणवश अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । हाल माननीय सभामुखज्यूले बैठक मिति २०८२ साल असोज २२ गते दिनको १ बजे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, माले पाटन पोखराको सभाहलमा बस्ने गरी मिति र स्थान निर्धारण गर्नुभएको छ ।”
सूचनामा गण्डकी प्रदेश सभा नियमावली, २०८० को नियम ६ को उपनियम ९२० बमोजिम यो सूचना प्रकाशन गरिएको उल्लेख गरिएको छ ।
जेन्जी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदर्शनकारी समूहले प्रदेश सभा हलमा आगजनी गरेपछि भवन र सचिवालय पूर्ण रूपमा प्रयोगयोग्य नरहेको अवस्था छ । काठ, फलाम र सिसा जल्ने क्रममा सभा हलको आन्तरिक संरचना, ध्वनि प्रणाली, कागजात र अभिलेख समेत नष्ट भएका थिए । त्यसयता सचिवालयका अधिकांश प्रशासनिक कामहरू अस्थायी रूपमा विभिन्न मन्त्रालयका कक्षहरूमा सरेर सञ्चालन हुँदै आएका छन् ।
प्रदेश सभा स्रोतका अनुसार स्थायी हल पुनःनिर्माणको काम अघि बढाउन प्रारम्भिक मूल्याङ्कन भइसकेको छ र पुनःनिर्माणका लागि आवश्यक बजेट छुटाउने तयारी भइरहेको छ ।
यसबीचमा सभामुख कृष्णप्रसाद धितालले पनि स्थगित बैठकलाई वैकल्पिक भवनमा बसाल्ने तयारी गर्न निर्देशन दिनुभएको थियो । स्रोतका अनुसार सुरक्षा निकाय र प्राविधिक टोलीको सुझावअनुसार माले पाटनको मन्त्रालय भवनलाई अस्थायी रूपमा उपयुक्त ठहर गरिएको हो । जिल्ला समन्वय समितिको हल, स्वास्थ्य तालिम केन्द्र र पशुपंक्षी विकास निर्देशनालयको हल पनि सचिवसहितको टोलीले अनुगमन गरेको थियो ।
गण्डकी प्रदेश सभा सचिवालयका अनुसार, माले पाटनको सभा हलमा ध्वनि प्रणाली, बैठक व्यवस्था र सुरक्षा व्यवस्थापनका केही प्राविधिक तयारी बाँकी छ, जुन बैठक बस्नुअघि पूरा गरिने जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्