देशैभर अविरल वर्षा : अतिभारी वर्षा हुने हुँदा सुरक्षित रहन मौसमविद्को सुझाव

काठमाडौँ । मनसुन बाहिरिने क्रममा गएरातिदेखि नै काठमाडौँ उपत्यकालगायतका ठाउँहरूमा अविरल वर्षा भइरहेको छ । वर्षाका कारण नदी किनारामा पानीको बहाव बढ्नुका साथै बाढी पहिरोको जोखिम हुने हुँदा सर्वसाधारणलाई अत्यावश्यकबाहेक यात्रा नगर्न सूचना जारी गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा दुई दिनसम्म भारीदेखि अतिभारीसम्म वर्षा हुने हुँदा सर्वसाधारणलाई सचेत रहन सुझाव दिनुहुन्छ । मौसमविद् अधिकारीले आज र भोलि पर्ने पानी सधैँ पर्ने भन्दा ठुलो भएकाले क्षति हुन सक्ने हुँदा सचेत रहन आग्रह गर्नुभयो ।

असोज २० गतेसम्म कोसीदेखि लुम्बिनी प्रदेशसम्मका काभ्रे, सिन्धुपाल्चोक, रसुवा मकवानपुर, बरा पर्सा, सर्लाही, रौतहटलगायतका जिल्लामा मध्यमदेखि अति भारी वर्षाको पूर्वानुमान भएकाले त्यसबाट उत्पन्न हुनसक्ने विपद्को सामना गर्न सरकारी संयन्त्रहरू पनि तयारी अवस्थामा रहेका छन् ।
वर्षाका कारणले आउन सक्ने जोखिम व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाली सेनाको ६ वटा हेलिकप्टर, निजी हेलिकप्टर, ड्रोन, तीन वटै सुरक्षा निकाय र प्रत्येक स्थानीय तहहरूमा ठुलो सङ्ख्यामा स्वयंमसेवकहरुलाई समेत तयारी अवस्थामा राखेको जनाएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले अविरल वर्षापछि आउन सक्ने सम्भावित जोखिमका लागि सरकारी र गैरसरकारी निकायसँगको समन्वयनमा सबै संयन्त्रहरूलाई परिचालन गरिएको जानकारी दिनुभयो । प्राधिकरणका अनुसार राजनीतिक दलहरूका स्वयम सेवकहरू पनि विपद्को सामना गर्न तयारी अवस्थामा रहेका छन् ।
प्राधिकरणले पूर्वानुमानसम्बन्धी अद्यावधिक सूचनालाई जतिसक्दो छिटो र बुझिने गरी जनसमुदायसम्म सम्प्रेषण पनि गरिरहेको जनाएको छ । काठमाडौँ उपत्यका भित्रिने र उपत्यका बाहिर जाने यात्रुहरूलाई सुरक्षा निकायले सतर्क गराइरहेको छ । गएरातिदेखि नै निरन्तर पानी परेकाले बाढी पहिरोका कारण केही ठाउँका सडकहरूमा अवरोध भएको सडक विभागले जनाएको छ ।

सडक विभागका महानिर्देशक डा.विजय जैशी अरनिको, कोदारीलगायतका राजमार्गमा पहिरो आएर बाटो अवरोध भएको बताउनुहुन्छ । महानिर्देश जैसीका अनुसार केही राजमार्गमा राजमार्गमा अलपत्र पर्न सक्ने भन्दै सुरक्षा निकायले गाडीहरू रोकिरहेका छन् ।
जल तथा मौसम विज्ञान विभागले चार दिनको मौसम पूर्वानुमान गरी सर्वसाधारणलाई सचेत गराएको भए पनि अत्यावश्यक परेर यात्रामा निस्केकाहरू भने बाटोमा रोकिएका छन् । दशै मनाएर उपत्यका फर्कने र उपत्यकाबाट बाहिर जाने यात्रु बिचैमा रोकिएका छन् भने सडक मार्गबाट आवतजावतमा पनि असहज भएको छ ।
विपद् बाजा बजाएर आउँदैन तर पछिल्ला वर्षहरूमा मौसम पूर्वानुमानले बाढी पहिरोबाट हुने जनधनको क्षतिलाई कम गर्न सहयोग पुर्याएको छ । निरन्तर वर्षा भइरहेको छ । वर्षापछि आउने बाढी पहिरो र डुबानबाट जोगिन सर्वसाधारणले सावधानी अपनाउनु आवश्यक छ ।
प्रतिक्रिया राख्नुहोस्