सम्भावित जोखिमको न्यूनीकरणका लागि तयार रहन मन्त्री खरेलको निर्देशन

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आफ्ना मातहतका सबै निकायहरुलाई सम्भावित विपद् जोखिमबाट जनधनको क्षति न्यून गर्ने गरी तयारी गर्न निर्देशन दिएको छ ।
आज मन्त्रालयमा बसेको आकस्मिक बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमप्रति सरकार सतर्क रहेको र सो अनुसारको तयारी गरिएकोले सञ्चार क्षेत्रसँग सम्बन्धित निकायहरुले पनि समय समयमा जनतालाई सचेतनामूलक सूचना, जानकारी र सन्देश दिन आग्रह गर्नुभयो ।
उहाँले, जनतालाई सञ्चार सम्पर्कबाट विच्छेद हुन नदिन र केही गरी सञ्चार सम्पर्क टुट्न गएमा तत्काल सुचारु हुनेगरी तयारी गर्न दूर सञ्चार सेवा प्रदायकहरुलाई निर्देशन पनि दिनुभयो ।
बैठकमा, मन्त्रालयका सचिव राधिका अर्याल र सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा.महेन्द्र विष्टलगायत मन्त्रालय मातहतका निकायका पदाधिकारीहरुले निरन्तरको वर्षा र सम्भावित जोखिम न्यूनीकरण गर्न आफ्ना निकायहरु सतर्क अवस्थामा रहेको जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्