गएराति देखिको वर्षापछि मधेशमा उच्च सुरक्षा सजगता

जनकपुरधाम । गए राति देखि मधेश प्रदेशका जिल्लाहरुमा मध्यम खालको वर्षा भईरहेको छ । वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राखेर उच्च सुरक्षा सजगता अपनाइएको छ ।
मध्यम तथा सामान्य प्रकारको वर्षा भएका कारणले अहिलेसम्म कुनै प्रकारको क्षति नभएपनि मधेश प्रदेशका ठूला नदीहरु वागमती, लालवकैया, कमला तथा कोशी नदीमा क्रमशः पानीको सहत बढ्न थालेको छ ।
यसैबीच जल तथा मौसम विज्ञान विभागले पूर्व सूचना जारी गरेका कारणले सोही अनुसारको सुरक्षा सतर्कता अपनाउने काम भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसका साथै नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा नेपाली सेनाला उच्च सुरक्षा सजगतामा रहेका छन् ।
लगातारको वर्षाले वडा दशैको द्वादशी तिथिमा विगत जस्तो चहल पहल देखिएको छैन । खासगरेर तराई मधेशका जिल्लाहरुमा बसोवास गर्ने पहाडी समुदायले विजया दशमीको पूर्णिमासम्म ठूला वडा तथा मान्य जनहरुवाट टिका थाप्ने चलन रहेकाले विगतमा पूर्व पश्चिम लोकराजमार्गसहित बजार क्षेत्रमा अत्यधिक मात्रामा चहल पहल हुने गरेको थियो ।
गएराति देखिको लगातार बर्षाका कारणले बजार तथा यातायात क्षेत्रमा चहलपहलमा व्यापक मात्रामा कमी आएको भने यो वर्षाले धानवालीलाई ठूलो फाईदा पुग्ने जनकपुरधामको वडा नंं ८ का अगुवा किसान रामदेव यादवले बताउनुभयो ।
केही साता यता मधेशका जिल्लाहरुमा वर्षा नभएका कारणले धान खेत सुक्न थालेका थिए तर धानमा वाला लाग्ने वेलामा हतिया नक्षत्रको वर्षा भएका कारणले यसले धानको उत्पादनमा सकारात्मक असर पार्ने किसानहरुले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्