मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते
कल्याणपुर (सप्तरी)। सप्तरीको खडक नगरपालिका ११ बनौलीस्थित हुलाकी सडक खण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।
बोदेबर्साइनबाट राजविराजतर्फ जाँदैगरेको मधेश प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदैगरेको मधेश प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते खडक नगरपालिका १० बेलहा घर भएका मोटरसाइकल चालक २८ वर्षीय चिन्तामणि चौधरीकोको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर पुरीले जानकारी दिनुभयो ।
त्यसैगरी, अर्का मोटरसाइकल चालक सुरुङ्गा नगरपालिका वडा ७ घर भएका २७ वर्षीय सोविन चौधरीको पनि उपचारको क्रममा ११ बजे मृत्यु भएको उहाँले बताउनुभयो ।
मृतकको शव पोष्टमार्टमपछि शुक्रबार परिवारजनलाई बुझाइएको छ । सोही दुर्घटनामा मोटरसाईकलमा पछाडी सवार सोविनकी श्रीमती २५ वर्षीया रमिता चौधरी र सोविनकै साथी सन्तोष चौधरीको ८ वर्षीया छोरी रचना चौधरी घाइते हुनुभएको छ । रमिताको पेट र दुवै खुट्टामा, रचनाको टाउको र खुट्टामा चोट लागेको छ । दुवै जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्