तपाईँ सुन्दै हुनुहुन्छः

दसैँमा पनि सुनसान गाउँ

ढोरपाटन (बागलुङ)।अरु समयमा सुनसान हुने गाउँमा दसैँमा रमाइलो हुन्छ । रोजगारी, पढाइलगायतका कारणले गाउँ छाडेकाहरु दसैँमा फर्कने चलन हुन्छ । तर बागलुङका केही ग्रामीण क्षेत्र दसैँमा पनि सुनसान छन् ।

बढ्दो बसाइँसराइँ र विदेश पलायनका कारण दसैँमा गाउँ सुनसान भएका हुन् । खासगरी जिल्लाको काठेखोला गाउँपालिका, गलकोट नगरपालिका र बागलुङ नगरपालिकाका ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी चितवन, बागलुङ बजार, पोखरालगायतका ठाउँमा जानेहरु बढेपछि दसैँ सुनसान बनेका हुन् ।

पाँच वर्ष अगाडिसम्म दसैँ मान्नका लागि सहर बजार र विदेशबाट आफन्तजनको हातबाट टीका ग्रहण गर्न आउने धेरै भए पनि अहिले गाउँमा फाट्टफुट्ट मात्रै आएको बागलुङ नगरपालिका–११ का तिलबहादुर थापाले बताउनुभयो । पहिले रोजगारका सिलसिलामा विदेश छिरेका र अध्ययन तथा विभिन्न कामका लागि बजार गएकाहरु दसैँका बेला गाउँ आउँदा निकै चहलपहल बढ्ने गरे पनि अहिले सुनासन रहेको उहाँको भनाइ छ ।

थापा भन्नुहुन्छ, “गाउँ त अब गरिब र दुःखीका लागि मात्रै हुने भयो, अरु बेला त गाउँ सुनसानै हुन्थ्यो तर दसैँको बेला भने धेरै मान्छे गाउँ आउँथे, अहिले दसैँमा पनि धेरै मान्छे गाउँमा आएनन्, आफन्तसँग जमघट हुँदा पो दसैँ आए जस्तो हुने रैछ, कोही नहुँदा त उराठ लाग्दो भएको छ, धेरैको घरमा ताला ठोकेका छन्, वरपरका छरछिमेकी बजार छन्, कोही विदेश छन् ।”

गलकोट नगरपालिकाको अधिकांश गाउँ पनि यति बेला सुनसान छन् । गाउँका दुई÷चार घरको चुलोेमा आगो बले पनि धेरै घरमा झार पलाएका छन् । घरका बार्दली लेउले ढाकिएका छन् भने काठ मक्किएको गलकोट नगरपालिकाका वीरबहादुर नेपालीले बताउनुभयो । धनीहरु सबै सहर पसेपछि अहिले गाउँमा गरिब वर्ग मात्रै रहेको उहाँको भनाइ छ । गाउँमा भएका सबै युवा विदेश पलायन हुँदा अहिले बुढाबुढी र केही बालबालिका बाहेक अरु कोही नभएको नेपालीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button