विजया दशमी : देखिन थाल्यो दुर्गा देवीको प्रसाद र आशीर्वाद थाप्नेको चहलपहल

काठमाडौँ । नौ दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको प्रसाद घरमा मान्यजनबाट ग्रहण गरेपछि घरबाहिर टीका लगाउन हिँड्नेको आजैदेखि राजधानीलगायत देशभर चहलपहल देखिन थालेको छ ।
महानवमीका दिन बुधवार सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने घर बाहिरका आफन्तसँग दुर्गादेवीको प्रसाद लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो । निधारमा रातो टीका र टाउकोमा जमरा लगाएका मानिस अन्यत्र टीका एवं आशीर्वाद थाप्न हिँड्न थालेका छन् ।
दुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नगरेसम्म जारी रहन्छ । राजधानीमा मानिसको चहलपहल बढे पनि सार्वजनिक सवारी भने निकै कम चलेका छन् ।
थोरै मात्रामा चलेका सार्वजनिक सवारीमा कोचिएर यात्रा गर्न यात्रु बाध्य छन् । यस वर्षको दशैँमा झरी परेका कारण पनि टीका एवं आशीर्वाद थाप्न हिँड्ने मानिस प्रभावित भएका छन् ।
महानवमीका दिन बुधवार र आज बिहान पनि राजधानीलगायत विभिन्न स्थानमा वर्षा भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्