तपाईँ सुन्दै हुनुहुन्छः

चर्खे पिङ संरक्षणमा स्थानीय

दमौली (तनहुँ) । तनहुँको भानु नगरपालिका–४ टारका स्थानीय चर्खे पिङ संरक्षणमा जुटेका छन् ।

दसैँका बेला पिङ हाल्ने प्रचलन हराउँदै जान थालेपछि स्थानीयवासी पिङ संरक्षणमा जुटेका हुन् ।

यहाका स्थानीयवासीले चर्खे र लिङ्गे पिङ हालेर सर्वसाधारणका लागि पिङ हालेको स्थानीय युवा सन्देश आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दसैंका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता छ, तर पछिल्लो समय बढ्दो आधुनिकतासँगै पिङको प्रचलन लोप हुन थालेको छ । त्यसैले संरक्षणका लागि एकै ठाउँमा चर्खे र लिङ्गे पिङ हालेका छौ ।”

सोही वडाकै गगनपुर बगैंचामा संस्कृति जगेर्ना गर्ने उद्देश्यसहित स्थानीय युवाले चर्खे पिङ र लिङ्गे पिङ हालेका छन् । पछिल्लो पुस्ताको बेवास्ता र बढ्दो युवा पलायनका कारण गाउँमा पिङ देख्नै मुस्किल हुने गरेको आचार्यको गुनासो छ । उहाँले भन्नुभयो, “विगतमा दसैं सुरु हुनुभन्दा गाउँमा पिङ बनाइन्थ्यो, पिङ खेल्दै रमाइलो हुन्थ्यो । तर आजभोलि समय त्यस्तो छैन । गाउँमा युवा नै पाउन छाडियो ।” वैदेशिक रोजगारीका लागि युवा विदेशिने क्रम बढेपछि गाउँमा पिङ देख्नै छाडिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पिङको संस्कृति संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी गाउँमा भएका युवा मिलेर पिङ हालेका छौ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button