तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले केन्द्रीय कमिटी बैठक बोलायो, राहदानी सिफारिसप्रति आपत्ति

काठमाडौं । नेकपा (एमाले) ले पार्टीको केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। आइतबार भक्तपुरको गुण्डुमा बसेको पार्टी सचिवालय बैठकले यही असोज २७, २८ र २९ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले पछिल्लो घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सरकार राजनीतिक प्रतिशोधको बाटोमा जान खोजेको संकेत देखिएको बताउनुभयाे।
“पछिल्लो समय जुन ढंगले घटनाक्रम विकसित भइरहेका छन्, त्यसले सरकार प्रतिशोधको बाटोमा उन्मुख हुन खोजेको स्पष्ट देखिन्छ,” उहाँले भन्नुभयाे।

साथै, एमालेले अध्यक्ष केपी शर्मा ओलीसहित केही नेताहरूको राहदानी रोक्का गर्न सिफारिस गरिएको समाचारप्रति पनि आपत्ति जनाएको छ।

“अध्यक्ष ओलीसहितको राहदानी रोक्काका लागि सिफारिस गरिएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,” ज्ञवालीले भन्नुभयाे, “यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गराएर, त्यसपछि दसैंको अवसर पारेर गरिएको यो राजनीतिक प्रतिशोधपूर्ण कदमप्रति केन्द्रीय सचिवालय गम्भीर आपत्ति प्रकट गर्दछ।”

एमालेले केन्द्रीय कमिटी बैठकमा हालको राजनीतिक अवस्था, पार्टीको रणनीति र आगामी कार्यक्रमबारे गम्भीर छलफल गर्ने जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button