तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी क्लिनिक सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले जेनजी प्रदर्शनमा घाइते भएकाहरूको पहिचान र सहज उपचारका लागि परिचय पत्र वितरण गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बारे जानकारी दिनुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जेनजी प्रदर्शनका घाइतेहरूलाई परिचय पत्र वितरण गर्ने, स्वास्थ्य उपचारका लागि अस्पताल तोक्ने र जेनजी क्लिनिक सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।

मन्त्री खरेलले घाइतेहरूको उपचारको सहजिकरणका लागि हटलाइन र सम्पर्क व्यक्ति तोक्ने, घाइतेहरूको वर्गीकरण गर्न प्राविधिक समिति गठन गरी तत्काल कार्य प्रारम्भ गर्ने निर्णय भएको बताउनुभयो । 

उक्त प्राविधिक समितिमार्फत हुने घाइतेहरूको वर्गीकरण पश्चात् सरकारले उचित राहतको व्यवस्था गर्ने पनि मन्त्री खरेलले जानकारी गराउनुभयो ।

मन्त्री खरेलले बैठकले प्रधानमन्त्री सुशिला कार्कीको प्रमुख सल्लाहकारमा अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द नारायण तिमल्सीनालाई नियुक्त गर्ने पनि निर्णय गरेको बताउनुभयो ।

यस्तै मन्त्रिपरिषद् बैठकले कार्तिक १० देखी १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ बैठकमा सहभागी हुन ऊर्जा जलस्रोत तथा सिचाई मन्त्री कुलमान घिसिङलाई स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button