तपाईँ सुन्दै हुनुहुन्छः

बारामा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४ घाइते

वीरगञ्ज  । बारामा गए राती दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते दुई जनाको आज उपचारका क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका ६ जना मध्ये ३ जनाको बीरगन्जमा र १ जनाको कलैयामा उपचार भइरहेको छ । 

कलैया उपमहानगरपालिका वडा नम्बर–१४ बघवनस्थित कलैया–बरियारपुर सडक खण्डमा गए राति ४ जना सवार प्रदेश २–०३–०१६ प ४७३ नम्बरको मोटरसाइकल र दुई जना सवार बि आर ०५ एस ९०९२ नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका थिए ।

तीमध्ये उपचारका क्रममा आज दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बि आर ०५ एस ९०९२ नम्बरको मोटरसाइकलमा सवार बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर–११ कचोर्वाकी ३७ वर्षीया जुही साह र प्रदेश २–०३–०१६ प ४७३ नम्बरको मोटरसाइकलमा सवार महागढीमाई नगरपालिका वडा नम्बर–१ का १८ वर्षीय समशाद आलम देवान रहेका छन् ।

जुहीको बीरगन्जको गण्डकस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा आज दिउँसो १ः०० बजे र आलमको समेत सोही अस्पतालमा उपचारका क्रममा आज बिहान २ः०० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिनुभयो । 

दुर्घटनामा बि आर ०५ एस ९०९२ नम्बरको मोटरसाइकलमा सवार मृतक जुहीका पति ३८ वर्षीय किशोरी साह, उनका दुई छोराहरू १३ वर्षीय कौशल साह र १२ वर्षीय कृष्ण साह तथा महागढीमाई नगरपालिका वडा नम्बर–१ बस्ने १८ वर्षीय अफताब आलम घाइते भएका छन् ।

तीमध्ये मृतक जुहीका पति किशोरीको कलैया हस्पिटल प्रालिमा र उनका दुई छोराहरू कौशल र कृष्णको भने वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिनुभयो । अर्का घाइते अफताबको पनि नेशनल मेडिकल कलेजमै उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक नेपालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button