भारत र पाकिस्तान एसिया कपको फाइनलमा
काठमाडौँ । भारत र पाकिस्तान एसिया कप इतिहासमा पहिलो पटक फाइनलमा भिड्ने भएका छन् । युएईमा जारी एसीसी टि ट्वान्टी एसिया कपको सुपर फोरमा भारत र पाकिस्तान शीर्ष दुईमा रहँदै फाइनलमा स्थान बनाएका छन् ।
फाइनलमा पुग्न बिहीबार निर्णायक खेलमा पाकिस्तानले बङ्गलादेशलाई ११ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
भारतले भने शुक्रबार श्रीलङ्कासँग खेल्नु अगावै नै लगातार दुई जितका साथ फाइनलमा स्थान बनाएको थियो । सन् १९८४ देखि सुरु भएको एसिया कपका यसअघि १६ संस्करणको फाइनलमा भारत र पाकिस्तान भिडेका थिएनन् ।
भारतले ८ पटक ( १९८४, १९८८, १९९०/९१, १९९५, २०१०, २०१६, २०१८ र २०२३) मा एसिया कप उपाधि जितेको थियो । त्यस्तै पाकिस्तानले २००० र २०१२ मा एसिया कप उपाधि जितेको थियो ।
यसअघि समूह चरण र सुपर फोर दुबैमा भारतले पाकिस्तानलाई हराएको थियो । दुबई क्रिकेट रङ्गशालामा आइतबार हुने फाइनलमा भारत र पाकिस्तानबिचको प्रतिस्पर्धा निकै महत्वपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्