तपाईँ सुन्दै हुनुहुन्छः

आम निर्वाचनमा सक्रिय सहभागिताका लागि प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको आम निर्वाचनमा सक्रिय सहभागिताका लागि सम्पूर्ण राजनीतिक दल तथा नागरिक समाजलाई आह्वान गर्नुभएको छ । 

प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्नुहुँदै प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन र योग्य जनप्रतिनिधि चयनका लागि सबैलाई आह्वान गर्नुभयो । 

प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीको सिलसिलामा मुलुकबाहिर रहेका नेपालीलाई समेत विदेशबाटै मतदान गर्न सक्ने व्यवस्था गर्ने सकिने सम्भावनाबारे सरकारले निर्वाचन आयोग लगायतका सरोकारवाला निकायहरूसँग छलफल गरिरहेको बताउनुभयो । 

यस्तै, आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले अहिलेको सरकार वैदेशिक रोजगारीमा रहेका नेपालीको हकहितको संरक्षण एवं गैर नेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति समेत सकारात्मक रहेको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका भवनको पुनर्निर्माण प्रारम्भ भइसकेको र तिनलाई श्रोत साधन सम्पन्न बनाई पूर्ववत रूपमा फर्काउन सरकार लागिपरेको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले आन्दोलनमा अभिव्यक्त सबै काम गर्न कठिन रहेको र वर्तमान सरकार ६ महिनाका लागि चुनावी सरकारका रूपमा रहेकाले आन्दोलनका क्रममा उठेका शासकीय प्रणालीमा संशोधन लगायतका विषय आगामी निर्वाचनमा सहभागी भई संवैधानिक प्रक्रियाबाट संविधान संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री कार्कीले सम्बोधनका क्रममा भदौ २३ र २४ गतेको आन्दोलनमा युवा विद्यार्थीको ज्यान लिने संलग्न दोषीमाथि कानुनी कारबाही गर्ने तथा भ्रष्टाचारका विषयमा समेत आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याइने पनि प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button