तपाईँ सुन्दै हुनुहुन्छः

जेनजी आन्दोलनका दृश्यहरू देखिरहेका जेन अल्फा बालबालिकामा मानसिक असर    

काठमाडौँ । जेनजीहरुको आन्दोलनको घटनाले कम उमेरका बालबालिकामा नकारात्मक असर परेको पाइएको छ । सामाजिक सञ्जालहरूमा आन्दोलनका दृश्यहरू हेरिरहेका त्यस्ता बालबालिकामा सकारात्मक सोचाई बढाउन मनोसामाजिक परामर्शका कार्यक्रमहरू आवश्यक भएको विज्ञहरूले बताएका छन् । 

आन्दोलनका घटनाहरूले जेन अल्फा भनेर चिनिने १२ वर्ष र त्योभन्दा कम उमेरका बालबालिकालाई नकारात्मक असर परेको पाइएको छ । सन् २०१२ पछि जन्मिएका जेन अल्फाका बालबालिका पूर्ण रूपमा डिजिटल संसारमा जन्मिएका हुन् । जेन अल्फा जेनजीभन्दा बढी प्रविधिमैत्री पुस्ता हो  । जो स्मार्टफोन, इन्टरनेट र सोसल मिडियासँगै हुर्किरहेका छन् । सन् २०२५ पछि जन्मेको जेन विटा भने शिशु अवस्थामै छन् । जेन अल्फाले इन्टरनेटका माध्यमबाट विभिन्न सामाजिक सञ्जालहरूमा आजभोलि हिंसात्मक सामग्री देखिरहेका छन् । आन्दोलनमा गोली लागेको बीभत्स दृश्यदेखि सार्वजनिक भवनहरू दनदनी बलेकोे दृश्यहरू सामाजिक सञ्जालहरूमा आइरहेका छन् । आन्दोलनमा सहभागीले नेता तथा व्यापारिक संस्थाका विभिन्न सामग्रीहरू चोरेर घर लगेको दृश्यहरू पनि हेर्न विवश छन् । कतिपय जेन अल्फाका परिवारका सदस्य वा आफन्तहरू आन्दोलनमै पनि सहभागी भएका थिए भने उनीहरूले घरदेखि विद्यालयसम्म आन्दोलनका विषयमा हुने कुराकानी पनि सुनिरहेका छन् । आन्दोलनको प्रत्यक्षदर्शी बनेका त्यस्ता अल्फा उमेरका बालबालिकाहरूमा डराउने, विद्यालय जान मन नलाग्ने घरबाट बाहिर जान नचाहनेजस्ता समस्या देखिन थालेको बताउनुहुन्छ एक अभिभावक समेत रहनुभएकी बालअधिकारकर्मी शान्ता दाहाल । आन्दोलनले बच्चाहरूलाई गलत संस्कृति सिकाएको उहाँ बताउनुहुन्छ । 

जेन अल्फा बालबालिकाहरू अहिले विद्यालयको आधारभूत तहमा अध्ययनरत छन् । दशैँतिहारजस्ता चाडपर्वहरू नजिक आइरहेको अवस्थामा कतिपय विद्यालयहरू बिदा भइसके भने कतिपय विद्यालयमा अझै कक्षा भइरहेको छ । हिंसात्मक सामाग्री, आन्दोलनका भिडियोहरू र अप्रिय घटनाहरू देख्दा मानसिक रूपमा नकारात्मक सोचाइको सिकार भएका बालबालिकालाई पुरानै अवस्थामा लैजान अभिभावक तथा शिक्षकको महत्त्वपूर्ण भूमिका हुने गर्दछ । कान्ति अस्पतालमा कार्यरत बालमानोचिकित्सक उत्कर्ष कार्की बालबालिकालाई घरबाटै सम्झाउनुपर्ने विचार व्यक्त गर्नुहुन्छ ।   

त्यसो त आन्दोलनको मौका छोपेर देशभरका सुधार गृहहरूबाट बालबालिकाहरू बाहिर निस्केका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, सेभ द चिल्ड्रेनजस्ता संस्थाहरूले तत्काल गरेको अध्ययन प्रतिवेदनले देशभरका ६ वटा बाल सुधार गृहबाट ६ सय १८ बालबालिका फरार भएको देखाएको छ ।  जसमा २ सय २९ जना बालबालिका मात्रै पुन सुधार गृहमा फर्किएका छन् । ३ सय ९८ जना बालबालिका अझै सम्पर्कविहीन  छन् । त्यसले पनि बालबालिकाको सुरक्षा र उनीहरूको बाँच्न, पढ्न र स्वतन्त्र भएर हिँडडुल गर्न पाउने अवस्थामा प्रश्न खडा गरिदिएको छ । ती उमेरका बालबालिकालाई हिंसात्मक सामग्री हेर्न नदिने र घटनाबारे ढाकछोप गर्नेभन्दा पनि वास्तविकता बुझाइदिन अभिभावक शिक्षक र नजिकका आफन्तलाई विज्ञहरूले सुझाव दिएका छन् । प्रभावित बालबालिकाहरूलाई सामाजिक मनोपरामर्शका कार्यक्रमहरू सञ्चालन गर्न लागिएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक बम बहादुर बानियाले बताउनुभयो । बालबालिका शान्ति क्षेत्र हुन् । जुनसुकै आन्दोलनमा बालबालिकाको प्रयोग र त्यसपछिका प्रभावबाट बाल मस्तिष्कमा कुनै पनि असर पर्नुहुँदैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button