नेपाली पौडी टोली एसियाली एक्वेटिक्स च्याम्पियनसिपका लागि भारत जाँदै

काठमाडौँ । एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११औँ संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली भारतको अहमदाबाद जाने भएको छ ।
यही असोज १२ गतेदेखि २५ गतेसम्म हुने उक्त प्रतियोगितामा ११ पुरुष र पाँच महिला खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन महर्जन, अभिभ प्रधान, रेवन्तबहादुर श्रेष्ठ, जाडेन श्रेष्ठ, निर्णय थापा, अथर्व सिंह र वसिष्ठराज शाहीले प्रतिस्पर्धा गर्नेछन् । महिलामा आर्या महर्जन, टिशा महर्जन, अदिप्शा वैद्य, श्रेणु महर्जन र भैनवी श्रेष्ठले खेल्नेछन् ।
प्रशिक्षकमा शङ्कर कार्की, अफिसियलमा दीपकसागर सिंह महर्जन, नविना श्रेष्ठ, सुमन महर्जन र इन्द्रजित राजभण्डारी तथा निर्णायकमा विष्णु खड्का क्षेत्री र अनिश महर्जन रहेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले आज यहाँ आयोजित एक कार्यक्रममा सबै खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली यही असोज १० गते भारततर्फ प्रस्थान गर्नेछन् ।
प्रतिक्रिया राख्नुहोस्