तपाईँ सुन्दै हुनुहुन्छः

प्रयोगविहीन झोलुङ्गे पुललाई युवाहरूले बनाए पर्यटकीय आकर्षण

कञ्चनपुर । लामो समयदेखि प्रयोगविहीन बनेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ बेलडाँडीस्थित अनौखी खोलाको झोलुङ्गे पुल अहिले युवाहरूको पहलमा आकर्षक पर्यटकीय गन्तव्य बनाउने प्रयास भइरहेको छ ।

स्थानीय युवाहरूले घटस्थापनाको दिन अर्थात् असोज ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत पुललाई रङ्गिन बत्ती, कलात्मक झण्डा र विभिन्न सजावटी सामग्रीले सजाएर रमणीय बनाएका छन् ।

यस अभियानका अगुवा कवीन्द्र सिंह धामीले भन्नुभयो, “हामी युवाहरूले आफ्नै देशमै केही नयाँ सिर्जना गरेर रोजगारी र आम्दानीका अवसर बनाउन सक्छौँ भन्ने सन्देश दिन यो पहल गरेका हौँ । यसले स्थानीय पर्यटन र आर्थिक गतिविधि बढाउने विश्वास छ ।”

युवाहरूको लगानी र श्रममा सुरु गरिएको यो कामलाई स्थानीय बासिन्दाले समेत स्वागत गरेका छन् । छिमेकी गाउँ दोमिल्लाका सक्रिय युवा अम्बादत्त जोशीका अनुसार, पुल आकर्षक बनेसँगै गाउँको पहिचान तथा आर्थिक सम्भावना पनि बढ्ने अपेक्षा गरिएको छ । समुदायमै उत्प्रेरणा जगाउने यस अभियानले शुक्लाफाँटा क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button