विदेशको अनुभव, स्वदेशमा उपयोग
भोजपुर I वर्षौंदेखि विदेशमा श्रम गरे पनि अपेक्षित कमाई र सन्तुष्टि नपाएका यहाँ का युवाहरू अहिले आफ्नै गाउँ फर्किएर व्यावसायिक कृषि, जडीबुटी तथा पशुपालनमार्फत मनग्य आम्दानी गर्न थालेका छन् ।
विदेशको भोगाइ र अनुभवलाई सँगालेर थालेका व्यवसायबाट उनीहरूले मनग्य लाभ उठाइरहेका छन् ।

टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका प्रेमबहादुर बस्नेत त्यसको एक उदाहरण हुनुहुन्छ । लामो समय विदेशका विभिन्न देशमा पसिना बगाए पनि सोचेजस्तो आम्दानी नभएपछि बस्नेत गाउँ फर्किएर व्यवसायमा जोडिनुभएको छ । अहिले गाउँमा नै बाख्रापालन तथा जडीबुटीखेतीबाट राम्रै आम्दानी भइरहेको उहाँले बताउनुभयो । परिवारसँग बसेर गाउँमा गरिरहेको उद्यमबाट घरखर्च चलाउन कुनै समस्या नरहेको बस्नेतको भनाइ छ ।
“विदेशमा धेरै दुःख गरेँ, तर आम्दानी भनेजस्तो भएन”, बस्नेतले भन्नुभयो, “अहिले आफ्नै गाउँमा बसेर बाख्रापालनसँगै जडीबुटीखेती गरिरहेको छु । गाउँमा थालेको व्यवसायबाट विदेशमा भन्दा राम्रो आम्दानी भइरहेको छ । मेहनत गरे यही राम्रो आम्दानी हुने रहेछ भन्ने अनुभूति भयो ।”
विदेश जान चाहनेहरूका लागि गाउँमा नै उदाहरणीय बन्ने लक्ष्यका साथ कृषि कर्ममा जुटिरहेको उहाँको भनाइ छ । व्यवसायमा निरन्तरता दिन सक्ने हो भने त्यसबाट क्रमिक रूपमा लाभ लिन सकिने उहाँले अनुभव सुनाउनुभयो । “हामी छोटो समयमा धेरै लाभ लिन सोच लिन्छौँ”, उहाँले भन्नुभयो, “तर व्यवसायबाट आम्दानी लिन केही समय धैर्य राख्न सक्नुपर्छ । निरन्तर आफ्नो कर्ममा जुट्ने हो भने सफलता पाइने रहेछ ।”
उद्यममा जोडिन चाहनेहरूले सम्बन्धित काममा ज्ञान र सीप अनिवार्य रूपमा लिनुपर्ने उहाँको अनुभव छ । कुनै पनि व्यवसाय गर्न न्यूनतम सीप आवश्यक हुने उहाँले बताउनुभयो । राज्यका तहहरूले कृषकलाई उद्यममा जोडिनुपूर्व आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव छ ।
हाल भोजपुरका विभिन्न ग्रामीण भेगमा विदेशबाट फर्किएका धेरै युवा व्यावसायिक कृषि तथा पशुपालनतर्फ आकर्षित भइरहेका छन् । तर उनीहरूले व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने प्राविधिक ज्ञान, तालिम तथा पशुचिकित्सकीय सेवाको अभाव झेल्नु परेको गुनासो गर्ने गरेका छन् ।
राज्य तहबाट प्रदान हुने सेवाहरू सरल र पहुँचयोग्य भए गाउँमा नै बसेर राम्रो आम्दानी गर्न सकिने उनीहरूको भनाइ छ । रासस
प्रतिक्रिया राख्नुहोस्