तपाईँ सुन्दै हुनुहुन्छः

दशैं नजिकिँदै नेपालगञ्ज–जमुनाह नाकामा यात्रुको भीड

बाँके। दशैं नजिकिँदै जाँदा नेपालगञ्ज–जमुनाह नाका यात्रुले खचाखच भरिन थालेको छ । भारतका विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपाली स्वदेश फर्किन थालेपछि नाकामा चहलपहल बढेको हो ।

इलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीका अनुसार गत सात दिनमै ३५ हजार १७५ जना नेपाली स्वदेश फर्किएका छन् भने ३४ हजार ७१० जना भारततर्फ गएका छन् । उनका अनुसार दैनिक करिब दुई हजार नेपाली घर फर्किरहेका छन् ।

हालैको जेनजी आन्दोलनका कारण केही दिन सीमा बन्द हुँदा आवागमन रोकिएको भए पनि नाका पुनः सञ्चालनमा आएसँगै यात्रुको भीड थप बढेको प्रहरीले जनाएको छ । आवागमन सहज बनाउन जमुनाह नाकासहित नेपालगञ्ज र कोहलपुर बसपार्कमा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button