बेलायत, अस्ट्रेलिया र क्यानडाद्वारा प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता
लण्डन । बेलायत, अस्ट्रेलिया र क्यानडाले आइतबार प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन् । यसलाई दशकौँदेखिको पश्चिमी विदेश नीतिमा आएको परिवर्तनका रूपमा हेरिएको छ । पोर्चुगलले पनि आइतबार नै प्यालेस्टाइन राज्यको दर्जालाई मान्यता दिने बताएको छ, यद्यपि समाचार तयार पार्दासम्म यसको औपचारिक घोषणा भएको छैन ।
करिब दुई वर्ष पहिले अर्थात् सन् २०२३ अक्टोबर ७ को हमासको आक्रमणपछि गाजामा भएको इजरायली युद्धलाई लिएर आएको युरोपेली मुलुकसहितका देशको पछिल्लो नीतिले इजरायल ठूलो अन्तर्राष्ट्रिय दबाबमा परेको छ।
“आज, प्यालेस्टिनी र इजरायलीहरूको लागि शान्तिको आशा पुनर्जीवित गर्न, र दुई–राज्य समाधानको लागि, संयुक्त अधिराज्य (बेलायत)ले औपचारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएको छ,” बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले सामाजिक सञ्जाल एक्समा एक सन्देश लेख्दै बताउनुभएको छ ।
बेलायत र क्यानडा यो कदम चाल्ने पहिलो जी ७ देश बनेका छन्, फ्रान्स र अन्य देशहरूले पनि न्यूयोर्कमा सोमबार सुरु हुने वार्षिक संयुक्त राष्ट्रसङ्घीय महासभामा निर्णयलाई पछ्याउने अपेक्षा गरिएको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले एक्समा लेख्नुभएको छ, “क्यानाडाले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको छ र प्यालेस्टाइन र इजरायल दुवैको शान्तिपूर्ण भविष्यको प्रतिबद्धता निर्माण गर्न हाम्रो साझेदारी प्रदान गर्दछ।”
यो प्यालेस्टाइन र प्यालेष्टिनी नागरिकको दशकौँ लामो राज्यको महत्वाकांक्षाको लागि एक ऐतिहासिक क्षण हो ।
यसअघि, पश्चिमी राष्ट्रहरूको शक्तिशाली गठबन्धनले लामो समयदेखि यो इजरायलसँग वार्ता गरिएको शान्ति सम्झौताको एक भागको रूपमा मात्र आउनुपर्ने बताउँदै आएको थियो ।
–नेतन्याहूद्वारा आक्रोश व्यक्त–
“यो कदमले ती देशहरू संयुक्त राज्य अमेरिका र इजरायलसँग प्यालेस्टाइनलाई हेर्ने बिषयमा फरक छन् भन्ने देखाएको छ,” इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आक्रोशित प्रतिक्रिया दिनुभएको छ। उहाँले संयुक्त राष्ट्रसङ्घीय वार्तामा यसको विरोध गर्ने बताउनुभएको छ।
“प्यालेस्टाइन राज्यको आह्वानले ‘हाम्रो अस्तित्वलाई खतरामा पार्नेछ र आतङ्कवादको लागि बेतुकको इनाम’को रूपमा काम गर्नेछ,” नेतान्याहूले आइतबार भन्नुभयो ।
–ऐतिहासिक कदम–
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइन राज्यलाई मान्यता दिनु यस क्षेत्रमा दिगो शान्तिका लागि आवश्यक कदम भएको आइतबार बताउनुभएको छ ।
अब्बासले तीन देशहरूको कदमको स्वागत गर्दै भन्नुभयो, “यो अन्तर्राष्ट्रिय वैधता अनुसार न्यायपूर्ण र दिगो शान्ति प्राप्त गर्ने दिशामा महत्त्वपूर्ण र आवश्यक कदम हो।”
अब्बासले गाजामा युद्धविरामको आह्वान पनि गर्नुभएको छ ।
“उहाँले भन्नुभयो, “अहिलेकोे प्राथमिकतामा युद्धविराम गर्ने, मानवीय सहायतालाई प्रवेश गर्न अनुमति दिने, सबै बन्धक र कैदीहरूको रिहाई सुनिश्चित गर्ने र गाजा पट्टीबाट इजरायलको पूर्ण फिर्ती सुनिश्चित गर्ने हुनेछ।”
उहाँले थप्नुभयो, “प्यालेस्टाइन राज्यलाई पूर्ण जिम्मेवारी लिन सक्षम बनाउने, पुनः प्राप्ति र पुनर्निर्माणलाई अगाडि बढाउने र बस्ती गतिविधि रोक्ने र बसोबास बिस्तार गर्ने र हिंसा रोक्ने कदम निर्विकल्प बिषय भएको छ।”
–प्यालेस्टिनीहरूको अधिकारको विजय भएको हमासको भनाइ–
हमासका एक वरिष्ठ अधिकारीले आइतबार बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइन राज्यलाई मान्यता दिएकोमा प्रशंसा गर्दै यसलाई प्यालेस्टिनीहरूको अधिकारको विजयको रूपमा वर्णन गरेका छन्।
“यी घटनाक्रमहरूले प्यालेस्टाइनी अधिकार र हाम्रो मुद्दाको न्यायको विजयको प्रतिनिधित्व गर्दछ र एक स्पष्ट सन्देश दिन्छ । कब्जा आफ्नो अपराधमा जतिसुकै टाढा गए पनि यसले हाम्रो राष्ट्रिय अधिकार कहिल्यै मेटाउन सक्दैन,” हमास नेता महमुद मर्दावीले एएफपीसँग भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्