तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका मुख्यमन्त्री र सभामुखबीच भेटघाट

जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री सतिश कुमार सिंहसँग आज भेटेर मधेश प्रदेश सभा सचिवालय तथा मधेश सरकारका अन्य संरचनाहरूमा भएको क्षतिका विषयमा छलफल भएको छ । 

मुख्यमन्त्रीको आवासमा भएको भेटघाटको क्रममा मधेश प्रदेश सभा सचिवालय सहितका प्रदेश सभामा जेनजी पुस्ताको आन्दोलनको क्रममा भएको आगजनी तथा तोडफोड एवं लुटपाटपछि उत्पन्न भएको समस्याका विषयमा छलफल भएको हो । 

यसका साथै मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा, सिँचाई खानेपानी मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय, शिक्षा तथा संस्कृति मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा भएको आगजनी सहितका विषयमा छलफल भएको छ । 

यसका साथै मधेश प्रदेश सभा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक संरचना सहितका अन्य संरचनाहरूको निर्माण सहितको विषयमा पनि छलफल भएको मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलको सचिवालयले जनाएको छ । 

खास गरेर मधेश प्रदेश सभाका सम्पूर्ण संरचनाहरू, संसदीय दलका कार्यालय, स्टोर, मुख्यमन्त्रीको कक्ष सहितका सम्पूर्ण संरचनाहरू जलेका कारणले अहिले नै प्रदेश सभाको बैठक गरि सक्ने अवस्था नरहेको सभामुखले मुख्यमन्त्रीलाई जानकारी दिनु भएको छ । 

मधेश प्रदेशका मुख्यमन्त्रीका आफ्नै पार्टीका संसदीय दलको बैठकले मुख्यमन्त्री माथिको विश्वासको मत फिर्ता लिँदै सरकारबाट फिर्ता हुनका लागि निर्देशन गरेका कारणले मुख्यमन्त्रीले संविधान अनुसार प्रदेश सभाबाट ३० दिनभित्रमा विश्वासको मत लिनु पर्ने कानूनी व्यवस्था रहेको छ । 

सो अनुसार मधेश प्रदेश सभाको बैठक सञ्चालनका लागि प्रदेश सभा आवश्यक रहेको छ । प्रदेश सभा बैठक सञ्चालनका लागि दुई वटा विकल्प रहेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिनु भएको छ । अहिलेको प्रदेश सभाको भवनलाई मरम्मत तथा रङ्गरोगन गर्ने वा प्रदेश सभासँगै जोडिएको कवर्ड हलको व्यवस्थापन गरेर बैठक सञ्चालन गर्ने अवस्था रहेको जानकारी सभामुख मण्डलले गराउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button