अर्घाखाँची जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सेवा दिन

अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर सहितको सेवा दिन थालिएको छ ।
बिरामीको अवस्थालाई मध्यनजर गर्दै हाल अस्पतालमा दैनिक रूपमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा हाडजोर्नी विशेषज्ञ सेवासँगै सर्जरी (अप्रेसन) सेवा समेत उपलब्ध गराइएको मेडिकल सुपरीटेन्डेन डा.जगन्नाथ तिवारीले जानकारी दिनुभयो ।
अस्पतालमा विशेषज्ञ डाक्टरको आगमनसँगै प्रसूति तथा स्त्रीरोग र हाडजोर्नी सम्बन्धी समस्या रहेका हजारौँ बिरामीले जिल्लाभित्रै उपचार पाएका छन् ।
विगतमा जिल्ला अस्पतालप्रति स्थानीयको नकारात्मक सोच रहेको भए पनि अहिले भने अस्पताल प्रतिको विश्वास बढेर गएको स्थानीय मोतीराज चुदालीको भनाई रहेको छ । “सामान्य स्वास्थ्य समस्या देखिदा जिल्ला अस्पताल नपुगी सिँधै बुटवल, पाल्पा पुग्ने बिरामी हाल यही अस्पतालमै आउने गरेका छाँै, सेवाप्रति विश्वास बढेको छ” , चुदालीले भन्नुभयो ।

अस्पताल अहिले नियमित सेवा सँगै आँखा तथा दाँतको उपचार सेवा, एम डि जि पी विशेषज्ञबाट नसर्ने रोगको उपचार सेवा थप गरेको छ भने आगामी दिनमा डाइलासिस सेवा साथै इन्डोस्कपी सेवा थप गर्ने र विशेषज्ञ तथा ल्याब सेवालाई बिस्तार गर्ने योजना रहेको डा.तिवारीले बताउनुभयो ।
११औँ तहको मेडिकल सुपरिटेन्डेन्ट डाक्टरको नेतृत्वमा ६६ जनाको स्वीकृत दरबन्दी भए पनि अहिले अस्पतालमा स्थायी, समिति करार, दरबन्दी करार, छात्रवृत्ति करार, अन्य कार्यक्रम करार गरी १०१ जना कर्मचारी रहेको सूचना अधिकारी निम रानाले जानकारी दिनुभयो ।
अस्पतालमा दैनिक रूपमा ३ सय देखि ३ सय ५० जनासम्म बिरामीहरूलाई चेकजाँच तथा उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।
२०४५ सालमा स्थापना भई १५ बेड क्षमतामा सञ्चालनमा आएको अस्पतालमा हाल प्रदेश सरकारको प्रस्तावित ५० बेड क्षमतामा स्वास्थ्य सेवा प्रदान गरिने भने पनि आवश्यक विशेषज्ञ डाक्टर तथा उपकरणको अभावमा जिल्लावासी विशेषज्ञ सेवा लिनबाट वञ्चित रहेका थिए ।
प्रतिक्रिया राख्नुहोस्