तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङ : एक वर्षमा वातावरण संरक्षणका दर्जन बढी योजना सञ्चालन

बागलुङ । वातावरण संरक्षण, बाढी पहिरो नियन्त्रण र हरियाली बढाउने अभियान अन्तर्गत बागलुङ जिल्लामा एक वर्षमा दर्जनभन्दा बढी विशेष योजना सञ्चालन भएका छन् ।

गत आर्थिक वर्ष मात्र बागलुङमा ६ वटा हरियाली पार्क, ६ सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ भने हरियाली बढाउन वरपीपल र शमी रोपिएको हो । पछिल्लो समय वरपीपलका रुख मासिएको, पानीका स्रोत सुक्दै गएको र हरियाली कम भएकाले तीन आकर्षक चौतारी निर्माण गरिएको छ । वातावरण संरक्षण गर्न गैरसरकारी संस्थादेखि सरकारी निकायले दिगो प्रकारका बिरुवा रोपणमा ध्यान दिएका छन् ।

डिभिजन वन, भू तथा जलाधार व्यवस्थापन र सामाजिक विकास कार्यालयले ती अभियानमा साथ दिएका हुन् । सिवाईसी नेपालले दिगो वातावरण संरक्षण भन्दै मठमन्दिर र सार्वजनिक क्षेत्रमा वरपीपल रोप्ने काम गरेको छ । सिवाईसीले युवा तथा किशोरकिशोरी समूहमा ‘इको क्लब’ गठन गरेर वातावरण संरक्षणको अभियान चलाइरहेको बताएको छ ।

गत आर्थिक वर्षमा डिभिजन वन कार्यालयले वनक्षेत्र बढाउने प्रकृतिका ७५ हजार चार सय ५० बिरुवा उत्पादन गरेर समुदायमा वितरण गरेको छ । ती बिरुवा सामुदायिक वनमा रोपिएको छ । डिभिजन वन अधिकृत सरोज पन्थीले पानीका मुहान सुक्न नदिन वनभित्रै पानीका पोखरी निर्माण गर्दा पानीबाट हरियाली बढाउन सकिने बताउनुभयो ।

कार्यालयमा इन्जिनियर दरबन्दी नहुँदा डिभिजन वनले व्यवस्थित योजना निर्माणको काम भने गर्न नसकेको बताइएको छ । स्थानीय साधन श्रोतबाट बनेका पोखरीबाट पनि वन्यजन्तुका लागि पानीको आपूर्ति गराउन सकिएको पन्थीको भनाई रहेको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयले २६ स्थानमा गल्छी र पहिरो संरक्षण गरेको छ ।

संरक्षणले बाढी पहिरो रोकथाममा सहयोग मिल्ने भूसंरक्षण अधिकृत शम्भुप्रसाद मिश्रले बताउनुभयो । सो बजेटले सडक, सिँचाइ र पूर्वाधार विकासको क्षेत्रमा बायो इन्जिनियरिङको संरक्षणको काम गर्नुपर्ने मिश्रको सुझाव रहेको छ । कार्यालयले भू–संरक्षणका लागि अघिल्लो वर्ष ५० र गत वर्ष ३२ योजना सञ्चालन गरेर भू–संरक्षणको काम गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button