मुख्यमन्त्री पाण्डेद्वारा आगजनीबाट क्षति भएका सरकारी कार्यालयहरूको निरीक्षण
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जेन–जी आन्दोलनका क्रममा पोखराका सरकारी तथा निजी संरचनामा पुगेको क्षतिको निरीक्षण गर्नुभएको छ । आन्दोलनको क्रममा सरकारी कार्यक्रमका सिलसिलामा दुबईमा रहनुभएको मुख्यमन्त्री पाण्डे सोमबार नेपाल फर्किए लगत्तै मङ्गलवार बिहानदेखि विभिन्न कार्यालयहरूको निरीक्षण गर्नुभएको हो ।

मुख्यमन्त्री पाण्डले गण्डकी प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आफ्नो निवाससहित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्की लगायतका कार्यालयमा पुगेर आगजनीबाट पुगेको क्षतिको अवलोकन गर्नुभएको थियो । विध्वंस दृश्य देखेर निकै निराश मुद्रामा उहाँले आन्दोलनकारीहरूले भवनहरू, दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन, कम्प्युटर, ल्यापटप, प्रिन्टर, भिडियो क्यामेरा, टेलिभिजन, स्मार्ट बोर्ड, कुर्सी, टेबुल, दराज, सोफा लगायतका कार्यालयका अत्यावश्यक सामग्रीमा तोडफोड र आगजनी गरेकोमा दुःख व्यक्त गर्नुभयो । भदौ २४ गते आन्दोलनकारीहरूले पोखरास्थित अधिकांश सरकारी कार्यालयहरूमा यस्ता तोडफोड र आगजनी भएको थियो ।
निरीक्षणपछि मुख्यमन्त्री पाण्डेले भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।
देशमा भदौ २३ गते भएको मानवीय क्षतिपछि भदौ २४ गते सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहरमा भएको अकल्पनीय क्षतिले सबैलाई स्तब्ध र मर्माहत बनाएको भन्दै मुख्यमन्त्री पाण्डेले यस्तो घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने धारणा राख्नुभयो ।
जनअपेक्षा अनुसार जबाफदेही, पारदर्शी र उत्तरदायी कार्यमार्फत मुलुकलाई पुनर्निर्माण र स्थायित्वको बाटोमा अघि बढाउनुपर्नेमा उहाँको जोड थियो ।







प्रतिक्रिया राख्नुहोस्