धनुषामा लुटपाटमा संलग्न चार जना पक्राउ, अन्यको पहिचान हुँदै
जनकपुरधाम । मधेस प्रदेश लोकसेवा आयोगमा तोडफोड एवं आगजनी तथा प्रहरीको हतियार लुटेको आरोपमा २ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

गत मङ्गलवार जेन–जी आन्दोलनको क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित आयोगको कार्यालयमा पुगेर कार्यालयमा रहेको ४ वटा चारपाङ्गे गाडी, मोटरसाइकल ४ वटा एवं सिसिटिभी क्यामेरा तोडफोड गर्दै कार्यालयमा तोडफोड र आगजनी गर्दै प्रहरीको हतियार लुटेको आरोपमा दुई जना पक्राउ परेको प्रहरीले जनाएको हो ।
पक्राउ पर्नेमा जनकपुरधाम–९ बस्ने वर्ष ३७ मनिष कुमार अधिकारी र वर्ष २१ को सन्तोष कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट प्रहरीबाट लुटिएको एसएलआर राइफल एक थान बरामद गरेको जनाएको छ ।
आन्दोलनको क्रममा मङ्गलवार ५०÷६० जनाको समूहमा आएका व्यक्तिहरूले आयोगको कार्यालयमा तोडफोड गर्दै आगजनी गरेर सुरक्षामा खटेका नेपाल प्रहरीबाट एसएलआर राइफल १ थान र त्यसमा लाग्ने गोली ५० राउण्ड लुटेका थिए ।
प्रहरीले अनुसन्धानको क्रममा विभिन्न स्थानको सिसिटिभी फुटेजको विश्लेषण गरी खोजतलास गर्ने क्रममा सोमबार बिहान करिब ११ बजे दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यस अघि पनि लुटपाटमा संलग्न रहेका अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेका थिए । धनुषामा हालसम्म ४ जना लुटपाटमा संलग्न रहेकाहरूलाई प्रहरी प्रहरीले पक्राउ गरिसकेको र अन्यको सिसिटिभी फुटेको आधारमा पहिचान गर्ने काम भइरहेको धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनु भएको छ ।
केन्द्रीय प्रहरी प्रधान कार्यालयको निर्देशन पछि जेनजीको आन्दोलनको क्रममा लुटपाट तथा आगजनी गर्नेहरुको खोजतलास गर्दै पक्राउ गर्न सुरु गरेको हो । लुटपाटको भिडियो पनि उपलब्ध गराउनका लागि धनुषा प्रहरीले आग्रह गरिसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्